चीनमा नजरबन्द पत्नीलाई तीन वर्षको संघर्षपछि भेट्न पाउँदा…

by समतल अनलाइन

काठमाडौं। तीन वर्षको संघर्षपछि अस्ट्रेलियाका विगर मुसलमान समुदायका एक व्यक्ति चीनमा नजरबन्द आफ्ना पत्नी र छोरालाई भेट्न सफल भएका छन् ।

बिहीबार अस्ट्रेलियाली नागरिक सद्दाम अबुदुसालामुका लागि निकै खुशीको दिन थियो । किनकी तीन वर्षदेखि विछोडमा परेका उनले आफ्ना पत्नी नादिला वुमाएर र ३ वर्षकी छोरा लुत्फीसँग सिड्नीमा भेट गर्न पाए । कूटनीतिक सम्झौतापछि सद्दामको परिवारले चीन छाड्ने अनुमति पाएको हो ।

वुमाएर पनि चीनको अल्पसंख्यक ‘विगर मुसलमान’ समुदायकी हुन् । उनका अनुसार उनी यसअघि घरमै नजरबन्द थिइन् । तीन वर्षपछि जब शुक्रबार सिड्नी एयरपोर्टमा पारिवारिक पुनर्मिलन भयो, तब सबैका निम्ति भावुक क्षण बन्यो । उनले यो सुन्दर क्षण क्यामेराका कैद गरी सधैंका लागि साँचेका छन् । यो नै सद्दामका लागि छोरो देख्ने पहिलो अवसर थियो । उनको छोरोको जन्म सन् २०१७ मा भएको थियो ।
तीन वर्षको विछोड कथा

सद्दाम एक दशकदेखि अस्ट्रेलियामा बसिरहेका थिए । सन् २०१६ मा उनी आफ्नी प्रमिका वुमाएरसँग बिहे गर्न चीन गए । त्यसपछि सन् २०१७ मा उनी अस्ट्रेलिया फर्किए । उनकी श्रीमती भने आफ्नो भिसा (वैवाहिक भिसा) का लागि चीनमै रोकिइन् । त्यही वर्ष छोराको जन्म भयो । तर चीन सरकारले सद्दामलाई भिसा दिएन ।

छोराको जन्म भएको केही समयपछि वुमाएरलाई हिरासतमा राखियो । दुई हप्तापछि उनी रिहा भइन्, तर उनको भिसा जफत गरियो र उनलाई घरमै नजरबन्दमा राखियो । उनलाई घर छाड्ने अनुमति दिइएन । पछिल्ला २ वर्षमा अस्ट्रेलिया सरकारले चीन सरकारसँग सद्दाम र उनकी पत्नी तथा छोराको रिहाइका लागि धेरै पटक अनुरोध गर्‍यो तर कुनै नतिजा निस्किएन । एकातर्फ सद्दाम अस्ट्रेलियन नागरिक भए पनि उनकी पत्नीसँग अस्ट्रेलियाली नागरिकता छैन । तर सद्दामको अनुरोधपछि उनका छोरालाई अस्ट्रेलियाली नागरिकता दिइयो ।

चीनका अधिकारीले यस वर्षको फेब्रुअरीमा भनेका थिए– सद्दाम र वुमाएरको विवाह कानुनी हिसाबले मान्य छैन र वुमाएरले पनि चीनमै बस्ने इच्छा व्यक्त गरेकी छन् । चीनका एक अधिकारीले अस्ट्रेलियाली टीभी अन्तर्वार्तामा यसरी भनेपछि सद्दामले आफ्नी पत्नी र छोराको तस्बिर ट्वीट गरे, जसमा वुमाएरको हातमा देखिएको कागजमा लेखिएको थियो– म जान चाहन्छु र आफ्ना पतिको साथमा बस्न चाहन्छु ।

तर यसपछि पनि यो जोडीले ६ महिना कुर्नुपर्‍यो । उनका वकिल माइलक ब्रेडलीले बीबीसीसँग भने, ‘दुई तीन महिनाअघि मलाई थाहा भयो कि उनले चीन छाड्न सक्ने छन् ।’ नभन्दै सद्दाम शुक्रबार संघाई, हङकङ, ब्रिस्बेन हुँदै ४८ घण्टाको यात्रापछि सिड्नी आइपुगे र अस्ट्रेलियको विदेश विभाग, आफ्ना वकिल र सञ्चारमाध्यमलाई धन्यवाद दिए ।

उनले भने, ‘मैले कहिले सोचेको थिइनँ कि यो दिन आउनेछ र फेरि हाम्रो परिवार एक हुनेछ । मेरो सपना छ, हरेक विगर मुसलमान परिवार यसरी नै पुनर्मिलन हुन सकुन् ।’ एजेन्सी

 
 
  
 

You may also like