कोरोनाबाट तीन महिलासहित थप चारको मृत्यु, मृतक संख्या ३८३ पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

चार जिल्लाका तीन महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसअघि नेपालमा बुधबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।

उपत्यकामा ६१८ सहित देशभर थपिए एक हजार २४६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

काठमाडौंका ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ६१८ जना हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २४३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ४२ हजार ९४९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ८२ हजार ९०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ७ हजार ९०३ जना र होम आइसोलेसनमा ८ हजार ३३८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ८८३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

 
 
  
 

You may also like