बुटवलमा सबै दीर्घरोगीको निःशुल्क पीसीआर

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामीहरुको सोमबारदेखि कोरोना संक्रमण पिसिआर परिक्षण निःशुल्क गर्ने भएको छ ।
नेपाल सरकारबाट तोकिएका क्यान्सर, मिर्गाैलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीहरुको निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
उपमहानगरपालिकाले यस खालको सुविधा बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीहरुलाई प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख सुवेदीले जानकारी दिए । यो सुविधा लिने सेवाग्राहीले आफू बसोबास गर्दै आएको वडा कार्यालयको सिफारिस र रोगको उपचारका अन्य आवश्यक कागजातसहित आउनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि उपमहानगरपालिकाका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई जिम्मेवारीसमेत तोकिएको उपमहानगरपालिकाले जनाएको छ ।
यस खालका बिरामीहरुको स्वाब संकलनका लागि नगरका वडा नं. ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा र वडा नं. १४ स्थित सेमलार स्वास्थ्य चौकीमा व्यवस्था गरिएको उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालद्वारा जारी सूचनामा जनाइएको छ । बुटवल उपमहानगरपालिकामा यस खालका उपचार गराइरहेका दीर्घरोगका बिरामीहरुको यकिन तथ्याङ्क आउन नसके पनि वडागत सिफारिसका आधारमा करिब २ सयको संख्यामा रहेको अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।


उपमहानगरपालिकाले यस अघिनै मिर्गौलाको नियमित डायलाइसिस गराउने बिरामीहरुका लागि निशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको थियो । बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीहरुको उद्धार गरी निशुल्क पीसीआर परीक्षण यस अगाडि नैं गरिसकेको छ । घोषणा गरेयता सडकमा फेला पर्ने कुनै पनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिँदै आएको छ ।
लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहराहरुको उद्धार गरी बुटवलस्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले बताए । । यसमध्ये आठ जनाको पीसीआर परीक्षण गरिएको छ र उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरुलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ । प्रमुख सुवेदीका अनुसार बुटवलभित्र कोही पनि अशक्त र रोगीहरु कोरोनाको जोखिममा नपरुन भन्ने उदेश्यले सडकमा बेसाहरा भएकाहरुको उद्धार र पीसीआर परीक्षण गरिएको हो ।
आठजनाको स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको र रिपोर्ट नआउञ्जेल छुट्टै आइसोलेसनमा राखिएको छ । उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पीपीई लगाएका उद्धार कर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् । कोरोना कहरका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्कसमेत गर्न नसकेको अवस्थामा बुटवल उपमहानगरले भने सडकमा बेसाहरा भएर बैचैन जीवन बिताएकाहरुलाई नगर प्रहरीमार्फत उद्धार गरी मानव सेवा आश्रममा राखेर नमुना काम गरेको छ ।

बुटवल उप–महानगरले कोरोना महामारीबाट नागरिक बचाउने गरी पीसीआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । उनले लैंगिकहिंसामुक्त नगरको कार्ययोजनाअनुरुपका पनि काम भइरहेको बताइन् । मिर्गौलाको डायलाइसिस गराउनुपर्ने र क्यान्सर रोगीहरुको निशुल्क पीसीआर परीक्षण गरिसकेको थियो । यसलाई यहाँका अरु पालिकाले पनि अनुशरण गरेका छन् । उप–महानगरले सडकमा बेसाहराहरु भएकारुहको समेत पीसीआर परीक्षण गरेर अर्को नमुना काम गरेको भन्दै धेरैतिरबाट प्रसंसा भएको प्रमुख प्रशासकीय अधिकृत शर्माको छ ।

 
 
  
 

You may also like