बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता

by समतल अनलाइन

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी पहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ ।
नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको संख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।

घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ । ‘हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ’, उनले भने ।

घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ । अरिवरल वर्षासंगै गए राति १२ वजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिऐ ।

प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन न.पा.४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन रहेका छन् ।

 

 
 
  
 

You may also like