देशसभा बैठक डेंगु रोग नियन्त्रणका लागि तत्काल अभियान सञ्चालन गर्न माग

by समतल अनलाइन

प्रकाश खनाल
बुटवल । प्रदेश नं ५ को प्रदेशसभामा डेंगु रोग नियन्त्रणकालागि संघीय र प्रदेश सरकारले कुनै कार्यक्रम अगाडी नबढाएको भन्दै डेंगु रोग नियन्त्रणकालागि तत्काल अभियान सञ्चालन गर्न प्रदेशसभा सदस्यहरुले माग गरेका छन् ।

आइतबार बसेको प्रदेशसभा बैठकको बिशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले चितवन, काठमाण्डौ, रुपन्देही लगायतका जिल्लामा गरी हाल सम्म १३ जनाको ज्यान गईसकेको र संघीय सरकारका कृषि मन्त्री समेत मुलुकका ४२ जिल्लामा चार हजार मानिशमा डेंगु रोगको संक्रमण हुँदा समेत संघीय सरकार र प्रदेश सरकारले त्यसको नियन्त्रणकालागि कुनै कदम नचालिनु दुखद भएको बताए ।

उनले प्रदेश नं ५ मा मात्रै ११० जनामा डेंगुको संक्रमण भएको र एक जनाको मृत्यु भएको तथ्याङ्क समेत प्रस्तुत गरे । पछिल्लो ५ बर्ष यता डेंगु रोगको संक्रमण ११ प्रतिसतका दरले बृद्धि भएको भन्दै उनले डेंगु रोग नियन्त्रणकालागि संघीय सरकार र प्रदेश सरकारले तत्काल आवस्यक कदम चाल्न र प्रत्येक जिल्लामा जनचेतनामूलक अभियान सञ्चालन गर्न माग गरे ।

प्रदेशसभाको बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य रिना नेपाल बिश्वकर्माले पनि डेंगु रोगको संक्रमण बढ्दै गएको भन्दै त्यसको नियन्त्रणकालागि बिशेष अभियान सञ्चालन गर्न माग गरिन् । प्रदेशसभा सदस्य तारा जिसीले लुम्बिनी प्रादेशिक अस्पतालमा एउटै बेडमा तिन जना सम्म बिरामि सुत्नु पर्ने अवस्था रहेको भन्दै त्यस बिषयमा सामाजिक विकास मन्त्री र मन्त्रालयका उच्च अधिकारीहरुलाई जानकारी छ की छैन भनि प्रश्न गरिन् ।

प्रदेशको एउटा प्रादेशिक अस्पताल समेत व्यवस्थित गर्न नसक्नु दुखद भएको भन्दै उनले लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना कहाँ पुग्यो भन्ने बिषयमा जानकारी माग गरिन् । उनले कर्मचारी समायोजन पछि प्यूठान जिल्ला अस्पतालमा डाक्टर र लेखापालको अभाव भएको भन्दै त्यसको तत्काल व्यवस्थापन गर्न माग गरिन् ।

प्रदेशसभाको बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य दृगनारायण पाण्डेयले समयमै काम नसक्ने ठेकेदार कम्पनीहरुलाई कार्बाही गछौं भन्ने तर कार्बाही नगर्ने गर्दा कतिपय योजनाहरु समयमै सम्पन्न नहुँदा जनताले सास्ती व्यहोर्नु परेको भन्दै अहिले सम्म कुन कुन ठेकेदारलाई कार्बाही भयो भन्ने बिषमा सदनलाई जानकारी गराउन माग गरे ।

अर्का प्रदेशसभा सदस्य रमा घर्तीले भदौंको तेस्रो हप्ता बितिसक्दा समेत किसानले मलखाद पाउन नसकेको भन्दै मलखाद लिन कहाँ जाने रु भनि प्रश्न गरिन् । प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले पनि सरकारले मलखादको उचित व्यवस्था गर्न नसक्ने किसानले छिमेकी मूलुकबाट मलखाद ल्याउदा प्रहरीले अबरोध गर्ने गर्दा किसान मर्कामा परेको भन्दै किसानले मलखाद ल्याउदा अबरोध नगर्ने वातावरण बनाइदिन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

एक विधेयक पारित एक पेश
आइतबारको प्रदेशसभा बैठकले प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुबिधा सम्बन्धी ऐन,२०७५ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलेदफावार छलफलका लागि पेश गरेको विधेयकमाथि आजै दफावार छलफल भै आजै पारित भएको हो ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुलाई दोहोरो सूविधा प्रदान गर्न विधेयक संसोधन गर्न लागेको भन्दै विधेयकको बिरोध समेत हुँदै आएको थियो । विधेयकमाथिको दफावार छलफलमा सहभागि भएका एक मात्र प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले सेवा सूविधा सम्बन्धी विधेयक ल्याउँदा व्यापक छलफल गरेर मात्रै ल्याउनुपर्ने सुझाव दिएका थिए ।

दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानून मन्त्री विधेयकको विषयमा नकारात्मक प्रचार गरिएको भन्दै प्रचार गरिए जस्तै विधेयकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुलाई दोहोरो सुबिधा दिने नभई भत्ता मात्रै दिने व्यवस्था गरेको दाबी गरे । आइतबारकै प्रदेशसभा बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुबिधा सम्बन्धी ऐन,२०७५ लाई संसोधन गर्न बनेको विधेयक पेश भएको छ ।

 
 
  
 

You may also like