वैज्ञानिक महिला, कोभिड–१९ विरुद्ध खोप निर्माणकी सारथि

काठमाडौं। आफ्ना तिम्ल्याहा छोरा पनि कोभिड–१९ विरुद्ध बन्दै गरेको खोप परीक्षणमा सहभागी भएकोमा डा. सराह क्याथरिन गिल्बर्ट दंग छिन् ।बायोकेमिस्ट्रीका विद्यार्थी २१ वर्षका उनीहरूले आफ्नी आमाले बनाउँदै गरेको खोपमा आफूलाई पनि सहभागी गराए । तर, त्यो कुनै घरायसी सल्लाहको परिणाम थिएन । र, त्यसबारे घरमा कहिल्यै सल्लाह पनि भएको थिएन । बेलायको लन्डनस्थित अक्सफोर्ड विश्वविद्यालयले गठन गरेको अनुसन्धान टोलीको नेतृत्व आफ्नी आमाले गरेको कुराले उनीहरूलाई परीक्षणमा सहभागी हुन प्रेरित ग¥यो ।

विश्वले खेपिरहेको मानवीय संकट अन्त्यका लागि यी ५८ वर्षीया ‘भ्याक्सिनोलोजिस्ट’ रातोदिन खटिरहेकी छन् । बिहान ४ बजे उठ्छिन् । केही समय घरबाटै काम गर्छिन् । त्यसपछि साइकलमा जेनर इन्स्टिच्युट पुग्छिन् । र, रातिसम्म अनुसन्धानमा जुट्छिन् । गत जनवरीसम्म सीमित कर्मचारी रहेको अनुसन्धान केन्द्रमा अहिले दुई सय ५० जना पुगेका छन् ।

उनी प्रोस्टेट क्यान्सरको इम्युनोथेरापी र मौसमी इन्फ्लुएन्जाविरुद्ध खोप बनाउने बायोटेक्नोलोजी कम्पनी ‘भ्याक्सिटेक’की संस्थापक पनि हुन् । र, अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिनोलोजी विषय प्राध्यापन गर्छिन् ।

इन्फ्लुएन्जाविरुद्धका खोपको विकास र सम्भावित भाइरल रोगबारे विशेषज्ञता हो, उनको । उनले सन् २०११ मा विश्वव्यापी फ्लु भ्याक्सिनको विकास र परीक्षणको नेतृत्व गरेकी थिइन् र अहिले कोभिड–१९ विरुद्ध खोप तयार पार्न लागिपरेकी छन् ।

आफ्ना सन्तान पनि कोभिड–१९ विरुद्धको खोप परीक्षणमा सहभागी हुँदा उनलाई सुरक्षाको चिन्ता छैन । ‘हामीलाई यसको असरबारे राम्रो जानकारी छ । परीक्षण क्रममा कति डोज दिनुपर्छ भन्ने पनि थाहा छ,’ उनी भन्छिन्, ‘अहिले हामी खोपको सुरक्षाको पाटोमै काम गरिरहेका छौँ, तर हामीलाई यस पाटोमा खासै चिन्ता छैन । किनकि, यसअघि पनि बारम्बार परीक्षण गरिसकेका छौँ ।’ …

खोप सुरक्षित देखिएपछि नै डा. गिल्बर्टको टोली यसको प्रभावकारिता र कसरी तयार पार्ने भन्ने विषयमा केन्द्रित भएको छ । गत अप्रिलमा अक्सफोर्ड विश्वविद्यालयले बेलायती फर्मास्युटिकल कम्पनी अस्ट्राजेनेकासँग कोभिड–१९ विरुद्ध खोप बनाउन गरिने परीक्षण, उत्पादन र वितरणसम्बन्धी सम्झौता गरेको थियो ।

खोप प्रभावकारी देखिएमा नाफा नराखी वितरण गर्न अस्ट्राजेनेकाले सहमति दिएको छ । दुई अर्बभन्दा बढी डोज खोप उत्पादनका लागि आफू तयार रहेको बताउने अन्य कम्पनी पनि आइरहेका छन् ।

‘अक्स–१ कोभ–१९’ नाम दिइएको खोप परीक्षण सुरु भएपछि डा. गिल्बर्ट संसारभरका सञ्चारमाध्यममा छाएकी छन् । तर, प्रचार प्रसारले काममा बाधा पु¥याउने कुरामा उनी सतर्क देखिन्छिन् । विभिन्न रोगविरुद्ध खोप बनाउनमा उनको दुई दशकको अनुभव छ । जे गर्छिन्, मिहिनेतसाथ गर्छिन् र सफल पनि हुन्छिन् ।

‘अक्स–१ कोभ–१९’ तेस्रो वा अन्तिम चरणको परीक्षणमा छ । यसको परीक्षण बेलायतमा सीमित छैन, राजनीतिक सीमाको परिधि नाघेर दक्षिण अफ्रिकादेखि दक्षिण अमेरिकी मुलुक ब्राजिलसम्मका मानिस सहभागी भइरहेका छन् ।

उनका अनुसन्धानबारे वैज्ञानिक दायराभन्दा बाहिर कमै छलफल भएको छ । यसपटक भने संसारकै ध्यान खिच्ने अनुसन्धानमा तल्लीन छिन् । ‘अक्स–१ कोभ–१९’ तेस्रो वा अन्तिम चरणको परीक्षणमा छ । यसको परीक्षण बेलायतमा सीमित छैन, राजनीतिक सीमा नाघेर दक्षिण अफ्रिकादेखि दक्षिण अमेरिकी मुलुक ब्राजिलसम्मका मानिस सहभागी भइरहेका छन् ।

खोप परीक्षणको प्रक्रिया सामान्यतया पाँच वर्ष लाग्थ्यो । डा. गिल्बर्ट नेतृत्वको टोलीले यो प्रक्रियालाई चार महिनामै झारेर गत अप्रिल अन्तिम सातादेखि क्लिनिकल अर्थात् मानिसमा परीक्षण सुरु गरेको हो । पहिलो चरणमा करिब एक हजार एक सय जना परीक्षणमा सहभागी भएका थिए ।

डा. गिल्बर्टले बेलायती संसदीय समितिसामु जुलाईमै खोप निर्माण हुन सक्ने खाका प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तुति देखेका एक सांसदले ‘तत्काल कोभिड–१९ विरुद्ध खोप तयार पार्नु भनेको एउटा झुपडीबाट ‘जेट इन्जिन’ निकाल्नु जस्तै हो’ भनेका थिए ।

ती सांसदलाई जवाफ फर्काउँदै बेलायत सरकारको खोप टास्कफोर्स प्रमुख केट बिन्घमले १० हजारभन्दा बढी मानिसमा परीक्षण गर्ने बिन्दुमा खोप अनुसन्धानरत अन्य दाबेदारलाई डा. गिल्बर्टको टिमले पछाडि छाडिदिने बताएका थिए । उनले भनेका थिए, ‘यो टोली संसारमा सबैभन्दा अगाडि छ । र, सबैभन्दा उन्नत खोप तयार पार्दै छ ।’

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजका निर्देशक एन्थोनी फाउसीले बेलायती ‘फ्रन्ट–रनर’ (डा. गिल्बर्टको टोली)को कामलाई सावधानीपूर्वक ध्यान दिइरहेको बताएका छन् । ‘सीमित अवधिका लागि मात्र खोप निर्माणको नेतृत्व गरिरहेको हो या साँच्चिकै काम भइरहेको हो भन्ने कुरामा यो टोलीले सजगता अपनाउनु आवश्यक छ,’ उनले हालै बिबिसीसँग भनेका छन् ।

किनकि, यसरी निर्माण भएका थुप्रै खोप लाइसेन्स परीक्षामा असफल भएका उदाहरण छन् । औषधि रोग लागिसकेपछि बिरामीलाई दिइन्छ । खोप भने रोग लाग्नै नदिन स्वस्थ व्यक्तिलाई दिइन्छ । त्यसैले सार्वजनिक प्रयोगमा जानुअघि हरेक खोपले नियामक निकायहरूले तयार पारेको उच्चस्तरको परीक्षामा सफलता पाउनुपर्छ । र, वर्षौंसम्म खोपको सुरक्षाको पाटोमा कडाइका साथ नजर लगाइन्छ ।

कोभिड–१९ विरुद्ध खोपका सन्दर्भमा पनि यही नियम लागू हुनेछ । जस्तो– अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड–१९ विरुद्धका खोप अन्य ‘प्लेसबो’को तुलनामा ५० प्रतिशत बढी प्रभावकारी देखिएमा मात्र सार्वजनिक प्रयोगका लागि अनुमति दिन सकिने बताएको छ । र, रक्त परीक्षण क्रममा सम्बन्धित व्यक्तिको प्रतिरक्षा प्रणालीमा प्रभाव पारेको धेरै प्रमाण आवश्यक हुने सर्त राखेको छ । अन्य मुलुकले भने कस्तो मापदण्ड तय गर्लान् भन्ने स्पष्ट हुन बाँकी छ ।

त्यसैले पनि डा. गिल्बर्ट नेतृत्वको टोलीसामु चुनौती नै चुनौती छन् । ‘अक्स–१ कोभ–१९’ मा कोभिड–१९ लाग्नबाट रोक्ने ८० प्रतिशत सम्भावना देखिएको उनले बताएकी छन् । आगामी सेप्टेम्बरसम्ममा त्यसको स्पष्ट चित्र आइसक्ने उनको भनाइ छ ।

हालै बेलायती सांसदहरूले डा. गिल्बर्टलाई सोधे, ‘के विश्वले आगामी जाडोयामसम्म पनि खोप पाउनलाई संघर्ष गर्नुपर्ला ?’ उनको जवाफ थियो, ‘आशा गरौँ, त्यो समयसम्म हामी यसमा सुधार गर्न सक्छौँ र तपाईंहरूको उद्धारका लागि आउनेछौँ ।’

यो खोप भाइरल भेक्टर प्रकृतिको हो, जसमाथि डा. गिल्बर्ट र प्राध्यापक एड्रियन हिलले वर्षौं लगाएर अनुसन्धान गरेका थिए । प्राध्यापक हिल हाल खोपबारे अनुसन्धान भइरहेको जेनर इन्स्टिच्युटका प्रमुख हुन् ।

परम्परागत खोप कमजोर वा निष्क्रिय बनेका कीटाणुका रूपमा तयार पारिएको हुन्छ । कुनै समयमा तिनै कीटाणु प्रतिरक्षा प्रणालीमा संक्रमण गर्ने कारक बनेका हुन्छन् । त्यसैले यी खोप यति छिटो निर्माण र उत्पादन गर्न सहज छैन ।

अक्सफोर्डको टोलीले यस्तो प्रविधि विकास गरेको छ, जसले प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्न एक रोगजनक आनुवंशिक सामग्रीलाई कोषिकाहरूमा पुर्‍याउन ग्रिक कथा ‘ट्रोजन वार’मा उल्लेखित ‘ट्रोजन हर्स’को जस्तै काम गर्नेछ । र, एक हानिरहित भाइरस उपयोग गर्दै प्रक्रियालाई गति दिन्छ ।

कोभिड–१९ को सन्दर्भमा डा. गिल्बर्टको टोलीले एक चिम्पान्जी एडेनोभाइरस (एक सामान्य ठन्डा भाइरस) लाई लिएको छ । र, त्यसलाई सार्स–कोभ–२ भाइरसको सतहमा हुने काँडेदार प्रोटिनविरुद्ध लड्ने प्रतिरक्षा प्रणालीका रूपमा उपयोग गरेको छ । चिम्प एडेनोभाइरस प्लेटफर्मले एन्टिबडी र किलर टी–सेललाई उच्चस्तरमा उत्तेजित बनाउँछ । र, एक प्रकारको श्वेत रक्तकोषिकाले प्रतिरक्षा प्रणालीमा हुने संक्रमण नष्ट गर्न मद्दत गर्छ ।

डा. गिल्बर्टकै जस्तो प्रयास चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्सले पनि नगरेको होइन । तर, त्यो कम्पनी दोस्रो चरणको परीक्षणमा मात्र छ । यी दुईबीच सानो तर महत्वपूर्ण अन्तर छ । क्यानसिनोले एक मानव एडेनो भाइरसमा आधारित भेक्टर प्रयोग गरेको छ । उक्त एडेनो भाइरसबाट यसअघि नै धेरै मानिस संक्रमित भइसकेका छन् । शरीरमा पूर्वनिर्मित एन्टिबडी रहेका मानिसमा एडिनोभाइरसले खोपलाई निष्क्रिय बनाइदिने प्रारम्भिक परीक्षणमा देखिएको छ ।

जोनसन एन्ड जोनसनले पनि मानव एडिनोभाइरस प्रयोग गर्दै सोही प्रकृतिको खोप तयार पार्दै छ, जसको जुलाई उत्तराद्र्धमा परीक्षण सुरु हुनेछ । एडिनोभाइरस आधारित यी सबै खोपको फाइदा पनि छ– यिनलाई ठन्डा राख्न आवश्यक हुनेछ र संसारभर पुर्‍याउन सहज पनि ।

सफल मानिएको खोप शतप्रतिशत प्रभावकारी नहुन सक्छ । कसले पहिले दौड जित्छ भन्ने पनि गौण विषय हो । र, सफलताको परिभाषा बेग्लै हो । सबै खोपले शरीरलाई भाइरसरहित बनाउन सक्दैनन् । कुनै खोपले संक्रमण रोक्न सक्दैन, तर शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । ‘हामीलाई रोगविरुद्ध उच्च क्षमतायुक्त खोप आवश्यक छ, जसले भाइरस प्रसार रोक्न पनि महत्वपूर्ण भूमिका वहन गरोस्,’ डा. गिल्बर्ट भन्छिन् ।

जेनर इन्स्टिच्युटको टोलीले सन् २०१४ मा इबोला भाइरसविरुद्धको खोप सबैभन्दा पहिले परीक्षण गरेको थियो । गुयना, लाइबेरिया र सियरालियोनमा भाइरस फैलिरहँदा इन्स्टिच्युटका वैज्ञानिक खोप परीक्षणमा व्यस्त थिए ।

पछि अमेरिका र युरोपेली मुलुकले पनि त्यस खोपलाई मान्यता दिए । त्यसले पनि अक्सफोर्डको टोलीलाई खोप निर्माणका लागि गर्नुपर्ने हतारका बारेमा ज्ञान दिएको छ । ‘हामी यी विषयमा पूर्ण जानकार छौँ,’ प्राध्यापक हिल भन्छन्, ‘यो प्रयासले साँच्चिकै अर्थ राख्नेछ भन्ने हामीले सोचेका छौँ ।’

इबोलाविरुद्धको यो लडाइँमा डा. गिल्बर्ट पनि सहभागी थिइन् । र, अर्को कोरोना भाइरस ‘मर्स’विरुद्ध युद्धमोर्चामा पनि थिइन् । मर्सविरुद्ध पनि चिम्प एडेनोभाइरसबाट खोप बनाइएको थियो । तर, ती सबै प्रयासमा कुनै सहायता उपलब्ध नभएपछि गिल्बर्ट र हिल मिलेर सन् २०१६ मा निजी कम्पनी ‘भ्याक्सिटेक’ स्थापना गरे । सोही कम्पनीमार्फत दुवै मिलेर प्रोस्टेट क्यान्सर थेरापी तयार पारे । त्यसमा पनि चिम्प एडेनोभाइरसकै प्रयोग गरिएको थियो ।

डिसेम्बर २०१९ मा चीनको वुहानमा नोवल कोरोना भाइरस उत्पत्ति हुँदा गिल्बर्ट र हिल साउदी अरेबियामा मर्सविरुद्धको खोप दोस्रो चरणमा परीक्षण गर्दै थिए । र, त्यही बिन्दुबाट उनीहरूलाई कोभिड–१९ विरुद्धको खोप परीक्षण थाल्न सहज भयो ।

जब उनले चीनमा जटिल निमोनियाको कुरा सुनिन्, कति चाँडो यो फैलियो भन्नेमा पहिले ध्यान दिइन् । १० जनवरीमा चिनियाँ वैज्ञानिकले त्यसको आनुवंशिक सिलसिलाबारे रिपोर्ट प्रकाशित गर्नासाथ उनले काम थालिसकेकी थिइन् ।

अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान मात्र होइन, खोप उत्पादन सुविधा पनि उपलब्ध छ । र, त्यसलाई तत्काल मानिसमा परीक्षण पनि गर्न सकिन्छ । १७ फेब्रुअरीमा उनको टोलीले मुसामा खोप परीक्षण थालिहाल्यो । जनावर र मानिसमा परीक्षणदेखि औषधि निर्माता कम्पनीहरूसँग संवाद पनि एकसाथ अगाडि बढाइन् । एकसाथ यी सबै काम अगाडि बढाउनु उनको उच्च कार्यकुशलताको प्रमाण हो ।

मार्च पहिलो सातासम्म आइपुग्दा उनलाई त्यसका लागि रकम अभाव भयो । कोलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इन्नोभेसन (सिइपिआई) बाट सानो परिमाणमा अनुदान प्राप्त गरिन् । सिइपिआई सन् २०१७ मा बिल एन्ड मेलिन्डा फाउन्डेसन तथा नर्वे र भारत सरकारको सहयोगमा स्थापना भएको थियो । र, यसमा लन्डनस्थित वेलकम ट्रस्ट लिमिटेड नामक रिसर्च च्यारिटी संस्था पनि संलग्न थियो । यो अनुदान काम अगाडि बढाउन पर्याप्त थियो ।

तर, बाँदरमा परीक्षण गरेर समय नष्ट गर्ने अवस्था थिएन । किनकि, संसारभरका मानिसले कोभिड–१९ बाट ज्यान गुमाइरहेका थिए । २३ मार्चमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले देशव्यापी लकडाउन घोषणा गरे । साथमा, डा. गिलबर्टको टिमका लागि २२ लाख पाउन्ड अनुदान उपलब्ध गराउने घोषणा पनि गरे ।

अप्रिलको सुरुमा अस्ट्राजेनेकाका रिसर्च एन्ड डेभलपमेन्ट विभाग प्रमुख मेन पांगोलसले अक्सफोर्ड विश्वविद्यालयमा भइरहेको सकारात्मक कामबारे सुने । अस्ट्राजेनेका पनि ठूलो खोप निर्माता कम्पनी थिएन । तर, अक्सफोर्डको टोलीसित जुम बैठक भएको १० दिनभित्रै खोप निर्माणसम्बन्धी सम्झौता भइहाल्यो ।

प्रतिडोज कम मूल्यमा खोप तयार पार्न अस्ट्राजेनेका तयार भयो । बेलायत सरकारले आफ्ना लागि तीन करोड डोज उपलब्ध गराउने सर्तमा ६ करोड ५० लाख पाउन्ड कम्पनीलाई दिने भयो ।
केही दिनभित्रै अस्ट्राजेनेकाले अमेरिकी बायोमेडिकल एड्भान्स रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटी (बार्डा) सँग ३० करोड डोज उपलब्ध गराउने सम्झौता गर्‍यो । त्यसलगत्तै भारतको सेरम इन्स्टिच्युट अफ हेल्थसँग एक अर्ब डोज खोप उत्पादनसम्बन्धी सम्झौता भयो, जुन विकासशील र मध्यम आय भएका मुलुकमा पुर्‍याउने लक्ष्य छ ।

यहीबीच, डा. गिल्बर्ट र प्राध्यापक हिलले अमेरिकी राज्य मोन्टानाबाट बाँदरमा खोप परीक्षणसम्बन्धी प्रस्ताव प्राप्त गरे । ६ वटा बाँदरमा गरिएको परीक्षणको नतिजा समग्रमा सकारात्मक आयो । त्यसलगत्तै मानिसमा परीक्षण सुरु गरियो ।

मे अन्तिममा डा. गिल्बर्टको टोलीले १० हजार मानिसमा एड्भान्स स्तरको परीक्षण तयारी थाल्यो । स्वतन्त्र वैज्ञानिकहरूको समूहबाट ग्रिन सिग्नल पाएपछिको तयारी थियो, त्यो । र, इटालीको कम्पनी एडभेन्टले त्यसका लागि १३ हजार डोज खोप उत्पादन गरिदिने भयो ।

डा. गिल्बर्ट नेतृत्वको टोलीको हालसम्मको उपलब्धि कोभिड–१९ महामारी अन्त्यको दिशामा महत्वपूर्ण कदम हुन सक्ने–नसक्ने भन्ने निर्धारण संसारभरका विविध समूहमा जारी परीक्षणहरूले गर्नेछन् । खासगरी, ज्येष्ठ नागरिकमा गरिने परीक्षणको उपलब्धिले यो महामारीबाट बाहिर निस्किन संसारलाई सहायता पुग्छ कि पुग्दैन भन्ने स्पष्ट हुनेछ ।
ब्लुमबर्ग डटकमको सहयोगमा नयाँ पत्रिका दैनिकबाटबाट

 
 
  
 

You may also like