नेकपा गतिरोध यथास्थितिमा : प्रचण्ड निवासमा माधव नेपालले भने, ‘म जबजवादी नै हुँ’

‘मंसिरमा महाधिवेशनको सहमति भएकै छैन, गलत प्रचार गरेर बैठकको माहोल बिथोल्न खोजियो’
काठमाडौं । नेकपा स्थायी कमिटी बैठक फेरि दुई दिनका लागि सरेको छ भने गतिरोध यथास्थितिमा देखिएको छ ।आगामी मंंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अध्यक्ष केपी ओलीको मात्र भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाएका छन् । वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि असहमति स्पष्ट पारिसकेका छन् ।

आइतबार बिहान प्रचण्डले खुमलटारस्थित निवासमा वरिष्ठ नेताहरू खनाल, नेपाल, प्रवक्ता श्रेष्ठसहित स्थायी कमिटीका करिब डेढ दर्जन नेतालाई बोलाएका थिए । शनिबार सचिवालयको बैठक र राष्ट्रपतिनिवासमा भएको छलफलबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले ओलीको प्रस्तावमा आफ्नो सहमति नभएको प्रस्ट पारेका हुन् ।

‘त्यो ओलीजीको मात्रै प्रस्ताव हो, मैले त सदस्यताको टुंगो छैन, नवीकरण र अभिलेखीकरण प्रक्रिया बढेकै छैन, विचारको प्रश्नमाथिको छलफल बाँकी नै छ । यस्तो अवस्थामा महाधिवेशनको सम्भावना कसरी हुन्छ ? भन्ने प्रश्न हिजै उठाएको हुँ, त्यसैले त्यसमा (मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा) केही पनि सहमति भएको होइन,’ प्रचण्डको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘मैले सहमति जनाएको पनि थिइनँ, तर बाहिर भयो भन्दै हामीलाई कमजोर पार्ने, बदनाम गर्ने उद्देश्यले प्रचार गरियो ।’

बैठकको माहोल बिथोल्न एकपछि अर्को प्रस्ताव ल्याएर अन्योल खडा गर्न खोजिएको प्रचण्डको भनाइ थियो । ‘मैले सहमति जनाएकै होइन, बरु बैठकमा मैले अलि प्रस्टसँग राखेको भए पनि हुन्थ्यो भन्ने अहिले लागेको छ ।

बाहिर सहमतिको प्रचार भएपछि सचिवालयमार्फत बेलुकी नै खण्डन गर्न लगाएको हुँ, त्यसैले तपाईंहरू निश्चिन्त हुनुहोस्, म तपाईंहरूको भावनाभन्दा दायाँ बायाँ गएको अवस्था होइन,’ प्रचण्डले प्रस्ट्याएका थिए ।

आफू प्रधानमन्त्रीसँग बेग्लै छलफल गर्ने तयारीमा रहेकै वेला अपर्झट राष्ट्रपति कार्यालय बोलाइएको खबर आएपछि विनातयारी गएको समेत उनले बताए । ‘राष्ट्रपति कार्यालयमा पूर्व निर्धारित होइन, बोलाइएपछि अपर्झट गएको हुँ । प्रधानमन्त्रीले म यता आएँ, तपाईं यतै आउनुस्, यताबाट बोलाइएको छ भनेपछि त्यता गएको हुँ, त्यसभन्दा अघि केही थाहा थिएन,’ प्रचण्डको भनाइ थियो ।

छलफलमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीमबहादुर रावल, गोकर्ण विष्ट, वर्षमान पुन, जनार्दन शर्मा, मातृका यादव, पम्फा भुसाल, रघुजी पन्त, मुुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, युवराज ज्ञवाली, बेदुराम भुसाललगायतका नेताहरू सहभागी थिए ।

प्रचण्डनिवासमा माधव नेपालले भने, ‘म जबजवादी नै हुँ, महाधिवेशन तय गर्ने हो भने छलफल हुनुपर्छ’

वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनको मिति तोकेर जाने हो भने आफू प्रस्टसँग जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त र कार्यदिशाका पक्षमा उभिने भन्दै आफ्नो पोजिसन स्पष्ट पारेका छन् ।

खुमलटारस्थित प्रचण्डनिवासमा आइतबार नेपालले आफ्नो मान्यता नेताहरूबीच वैचारिक, राजनीतिक सिद्धान्त र कार्यदिशाबारे स्पष्ट पारेका हुन् । यद्यपि, अहिलेकै अवस्थामा आगामी मंसिरभित्र अर्ली महाधिवेशन हुने सम्भावना भने नभएको उनको भनाइ थियो ।

‘म जबजवादी नै हुँ, तर जबजबारे पनि छलफल गर्नुपर्छ भन्ने हो । त्यो छलफल महाधिवेशनमा गरौँला भन्दै आएको हुँ,’ नेपालले राखेको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘अझ स्पष्ट रूपमा कुरा गर्ने हो भने अझै हामी जबजकै बाटोबाटै समाजवादसम्म पुग्ने बाटोमा हिँड्नुपर्छ भन्ने लाग्छ, मैले त्यही कुरा पार्टी एकीकरणको दस्ताबेज लेख्ने वेलामा पनि भनेको हुँ ।’

नेपालले पार्टी एकतामा सहमति खोज्नुपर्ने भएकाले मात्र जनताको जनवादलाई अन्तरिम कार्यदिशा मानिएकोसमेत बताएका थिए । ‘त्यतिवेला हामीले पार्टी एकता गर्नै पर्नेथ्यो, त्यसैले सहमतिमा हामीले जनताको जनवाद भन्यौं ।

अहिलेलाई यही गरौँ भन्ने भयो । एकता महाधिवेशनमा छलफल गरौँला भनेका थियौँ । साथीहरूलाई के लागेको छ, यदि महाधिवेशन हुने नै हो भने अब त त्यो विषयमा पनि छलफल हुनुपर्छ भन्ने मलाई लागेको छ ।’

उता, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि अध्यक्षहरूबीच अझै पर्याप्त गृहकार्य बाँकी नै रहेको बताए । ‘शुक्रबार सहमतिमै स्थायी कमिटी बैठक सारेर गृहकार्य गरेपछि अध्यक्षहरूका संयुक्त प्रस्ताव ल्याउने भनिएको छ,’ नेम्वाङले भने, ‘त्यसैले अहिलेसम्म सहमति भइसकेको अवस्था होइन, उहाँहरू गृहकार्यमै हुनुहुन्छ, सकारात्मक हिसाबबाटै टुंंगोमा पुग्दै हुनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’

अध्यक्ष ओली र प्रचण्डबीच आइतबार साँझ पनि करिब तीन घन्टा छलफल भएको छ । तर, प्रचण्डले मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका छन् । ‘मंसिरमा महाधिवेशन सम्भव छैन । यसमा मेरो समर्थन छैन । त्यही हिसाबले नयाँ तरिकाले सोचौँ । सबै विषय स्थायी कमिटी बैठकमा नै छलफल गरेर टुंग्याऊँ,’ प्रचण्डको भनाइ उद्धृत स्थायी कमिटीका एक नेताले भने ।

अहिले कार्यदिशामा सहमति र बहसको समय होइन : डा. बेदुराम भुसाल, स्थायी कमिटी सदस्य

जनताको बहुदलीय जनवाद अध्यक्षहरूसँग मात्रै सम्बन्धित विषय होइन । महाधिवेशनको मिति टुंगो गरेर अब महाधिवेशनको विचारको बहस खुला भयो भनेपछि मात्रै छलफल गर्न सकिने विषय हो ।

हामीले एकताका वेलामै महाधिवेशनका वेलामा बहस गर्न सकिनेछ भनेका छौं । एकता महाधिवेशनअघिसम्मका लागि हामीले जनताको जनवादको कार्यदिशा अपनाएका छौँ ।
राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद, २१औं शताब्दीको जनवादलाई महाधिवेशनका वेला छलफल गर्न सकिनेछ भनिएको छ ।

त्यसैले पहिले त बहस खुला गर्नुपर्‍यो, त्यसपछि मात्रै जान सकिने कुरा हो । तर, अहिले त महाधिवेशनको प्रस्ताव मात्रै आएको छ, टुंगो पनि भएको छैन, वैचारिक बहस खुला गरियो भन्ने निर्णय पनि भएको छैन । त्यसकारण अहिले यो कसैको पनि विषय होइन । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like