मेघगर्जनसहित देशभर वर्षाको सम्भावना, कता–कता छ बढी जोखिम ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव बढिरहेको छ । जसका कारण देशभर मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश–५ का केही स्थानहरुमा वर्षा भइरहेको जानकारी दिएको छ ।

महाशाखाले शनिबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको छ ।

प्रदेश–१, गण्डकी प्रदेश, र प्रदेश–५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । शनिबार राति भने देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
आज (शनिबार) विहान जारी बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनिएको छ :-
देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

तसर्थ ती प्रदेशमा नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल–पानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 
 
  
 

You may also like