अमेरिकामा दुई करोड मानिस कोरोना संक्रमित भइसकेको अनुमान

काठमाडौं । अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको अनुमान गरिएको छ ।बिबिसीका अनुसार अमेरिकाका स्वास्थ्य अधिकारीहरुले कम्तिमा दुई करोड मानिसमा कोरोना संक्रमण भइसकेको अनुमान गरेका हुन् ।
सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी) ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएको भन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ ।सङ्क्रमित र अस्पताल भर्ना हुनेको संख्या बढेपछि टेक्सस राज्यले लकडाउन पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो अनुमान बाहिर आएको हो । अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा सङ्क्रमण देखिएको छ । त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ ।

केही दिनदेखि दक्षिणी र पश्चिमी राज्यमा सर्वाधिक सङ्क्रमण भएको विवरण सार्वजनिक भएका छन् । वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबरसम्ममा १ लाख ८० हजारको कोरोना संक्रमणबाट मृत्यु हुने अनुमान गरेको छ । तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो संख्या १ लाख ४६ हजार मात्र हुने विश्व विद्यालयको दाबी छ । एजेन्सी

 
 
  
 

You may also like