कोरोना संक्रमित बढेसँगै बेइजिङका उडान र रेलसेवा फेरि रद्द

एजेन्सी।चीनको राजधानी बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाइलाई फेरि सशक्त बनाउन लागेको छ ।पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमित भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका २ ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द गरिएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् ।

बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् ।

बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ ।

टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ। बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ ।

कलेजका शंकास्पद विद्यार्थीलाई भने कलेजमै फिर्ता गरिएको छ । बेइजिङ्का सार्वजनिक स्थलहरूमा आवतजावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ ।

 
 
  
 

You may also like