बलात्कार आरोपबारे सन्दीप लेख्छन्–घटना घटेको होइन, घटाइएको हो

‘म न्याय माग्दा–माग्दै शिथिल भइसकें, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आफूमाथि लागेको आरोपबारे फेरि मुख खोलेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घटना घटेको नभएर घटाइएको बताएका हुन् ।

बलात्कार मुद्दामा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको सन्दीपको आरोप छ । ‘कथित अभियन्ता’ को प्रभावमा परेर जिल्ला अदालतले आफ्नोविरुद्ध फैसला गरेको उनले आरोप लगाएका हुन् । ‘मलाई थाहा छ–जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि छ । तर पनि धेरै चुप लागेर बसें । कानून व्यवसायीले भन्नुहुन्छ–तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ,’ उनले भनेका छन् ।

न्याय माग्दामाग्दा आफू सिथिल भइसकेको सन्दीपको भनाइ छ । यदि यो घटनामा आफू दोषी देखिए ८ वर्ष कैदले नपुग्ने बरु फाँसीको सजाय दिन उनले आग्रह गरेका छन् । सन्दीपले आफ्नो पक्षमा सामाजिक सञ्जालमार्फत समर्थन गर्नेलाई धन्यवाद दिएका छन् ।

एक किशोरीमाथि बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैदको सजाय तोकेको छ । यसविरुद्धमा उनले पाटन उच्च अदालतमा पुनरावेदन गरेका छन् । तर पटक–पटक पेशी सरिसकेको छ । चाँडै फैसला नआएमा वा दोषी ठहरिएका सन्दीपले आगामी जुन १ देखि हुन गइरहेको टी–२० विश्वकप गुमाउने पक्का छ । यसअघि पनि सन्दीपले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको बताएका थिए । लामो समय मौन बसेका उनी यसै हप्तादेखि भने प्रतिक्रिया दिन थालेका छन् ।

 
 
  
 

You may also like