यी हुन् कोरोना संक्रमणका दीर्घकालीन असर

काठमाडौं। भाइरल संक्रमणले सामान्य खोकीदेखि दमसम्मका समस्या निम्त्याउँछ ।संक्रमणका लक्षण बिस्तारै कम हुँदै गए पनि श्वासप्रश्वासमा लामो समय समस्या रहन सक्छ ।कोभिड–१९ ले व्यक्तिको फोक्सोमा समस्या ल्याउँछ । फोक्सोमा जटिल समस्या भएका व्यक्तिलाई आइसियूमै राखेर उपचार गर्नुपर्छ ।

तर, कोरोना भाइरसको संक्रमण भएका सबै व्यक्तिमा फोक्सोमा दीर्घकालीन असर देखिँदैन । खासगरी, ६५ वर्षभन्दा माथिको उमेरसमूह, लामो समय नर्सिङ केयरमा बसेका व्यक्ति तथा फोक्सो, मुटु, मिर्गौला र कलेजोका दीर्घरोगीमा कोरोनाको असर लामो समय रहने हालसम्मका अध्ययनको निष्कर्ष छ । ती अध्ययनअनुसार रोगप्रतिरोधी क्षमता कम भएका, मोटोपना र मधुमेहका बिरामी तत्काल संक्रमणमुक्त भए पनि पछिसम्म स्वास्थ्यमा कुनै न कुनै असर देखिन्छ ।

पोस्ट इन्टेन्सिभ केयर सिन्ड्रोम
संक्रमणको गम्भीर अवस्थामा पुगेका व्यक्तिमा समयक्रममा मानसिक समस्या देखिन सक्छ । पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर र डिप्रेसनजस्ता समस्या देखिन्छन् ।

लामो समय आइसियूमा रहेर उपचार गरेका व्यक्तिमा शारीरिक कमजोरी हुने सम्भावना रहन्छ । पोस्ट इन्टेन्सिभ केयर सिन्ड्रोम लामो समयको गम्भीर उपचारपछि देखिने गर्छ । सोच्ने र ध्यान केन्द्रित गर्ने क्षमतामा कमी यसका मनोवैज्ञानिक असर हुन् ।

मस्तिष्कमा असर
अमेरिकी मेडिकल जर्नल (जामा)मा प्रकाशित चीनमा गरिएको अध्ययनअनुसार लामो समय कोभिड–१९ को उपचार गराएका करिब ३६ दशमलव ४ प्रतिशत बिरामीमा नसासम्बन्धी समस्या देखिएको छ । कोभिड–१९ ले मस्तिष्कको ‘मेडुला ओब्लांगाटा’ नामक भागमा असर पुर्‍याउँछ ।

कोभिड–१९ ले फोक्सो मात्र नभई श्वासप्रश्वास नियन्त्रण गर्ने न्युरोन्सलाई समेत असर गर्छ । कोरोना भाइरसले निम्त्याउने दीर्घकालीन असरबारे थप अनुसन्धान आवश्यक रहेको जामाले बताएको छ ।

६० वर्षमाथिको उमेरसमूहमा मधुमेह र कार्डियोभास्कुलर जस्ता दीर्घकालीन समस्या निम्त्याउन कोभिड–१९ सहयोगी बन्ने जोखिम रहेको विज्ञहरूको भनाइ छ । भाइरसले फोक्सोमा पुर्‍याउने क्षतिले बिस्तारै अन्य अंगमा पनि असर पार्ने उनीहरूको अनुमान छ । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like