बुटवल । कपिलवस्तुमा कोरोना संक्रमण देखिएकी नर्स डिस्चार्ज भएकी छन् । १४ दिन आइसोलेसन वार्डमा बसेकी उनले कोरोनाविरुद्ध कुनै औषधि खानु परेन ।
‘औषधि नै नखाई कोरोना जिते, डिस्चार्ज भएपछि उनले भनिन् । उनीसंगै प्रदेश ५ मा कोरोना जित्नेको संख्या ३३ पुगेको छ । कपिलवस्तुकै ११ जना, बाँकेका २१ र रूपन्देहीका एक जना निको भएर घर फर्किएका छन् ।
कपिलवस्तु अस्पताल तौलिहवाको आइसोलेसन वार्डमा १४ दिन बसेर कोरोना परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि स्टाफ नर्स सोमबार घर फर्केकी हुन् । उनको जेठ १ गते र ४ गते गरिएको स्वाबको आरटी पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएपछि उनलाई घर फर्काइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सनकुमार थापाले बताए ।
थप केही दिन घरमै क्वारेन्टिनमा रहने गरी अस्पतालको आइसोलेसन वार्डबाट उनलाई विदाइ गरिएको हो । कोरोना फोकल पर्सन थापाले भने–‘यसैगरी जिल्लाबाट कोरोना संक्रमित भइ कोरोना अस्पताल बुटवलमा उपचाररत रहेका १० जना सर्वसाधारण पनि हिजो राति नै कोरोना जितेर घर फर्किएका छन् ।’
आइसोलेसन वार्डमा रहँदासम्म आफूले कुनै प्रकारको औषधि सेवन गर्न नपरेको संक्रमित स्टाफ नर्सले बताइन् । घर फर्किएकी उनले आफू कोरोना जितेर आएको बताउँदै घर परिवारसँग आफ्ना अनुभव आदान प्रदान गरिरहेकी छिन् ।
आइसोलेसन वार्डमा रहँदासम्म आफूमा कुनै स्वास्थ्य समस्या नआएको पनि उनले बताइन् । कोरोनासँग लड्न उच्च मनोबल चाहिन्छ,’ उनले भनिन्–‘शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु होस्, हौसला बुलन्द राख्नुस्, कोरोनाले केही गर्न सक्दैन ।’
संक्रमितको संख्या ६८२ पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार साँझसम्म ६ सय ८२ जना संक्रमित भएका छन् । जसमध्ये १ सय १२ जना उपचारपछि घर फर्किएका छन् । थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
अछाम मेललेकका ३२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । सेती प्रादेशिक अस्पतालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।
त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरूष र गुलरिया २ बर्दियाका १८ वर्षीय पुरूषमा कोरोना पोजिटिभ देखिएको हो ।
यस्तै नारायणी अस्पतालको प्रयोगशामा गरिएको परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको छ । उनीहरू जिरा भवानी गाउँपालिका ४ पर्सा कालिकामाइको क्वारेन्टाइनमा रहेकामा १८ वर्षका पुरूष र काठमाडौं महानगरपालिका १५ घर भएका कलैयामा काम गर्नेमा कोरोना पोजिटिभ देखिएको हो । हालसम्म कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । ११२ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हालसम्म पीसीआर विधिबाट ५१ हजार ६४२ र आरडीटी विधिबाट ९५ हजार १९२ नमूना परीक्षण भएका छन् । गत २४ घन्टामा पीसीआर २ हजार ९०४ र आरडीटी ५हजार १६६ नयाँ नमूना परीक्षण भएका हुन् ।
सबै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा १० हजार ८२७, प्रदेश २ मा ६ हजार ४६८, बागमती प्रदेशमा २३ हजार ३१३, गण्डकी प्रदेशमा ७हजार ७०१, प्रदेश ५ मा १६हजार २१५, कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६१० गरी कुल ९५ हजार १९२ वटा आरडीटी नमूना परीक्षण भएका छन् । क्वारेन्टाइनमा ४६ हजार २९ रहेका छन् ।
यस्तै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका–७ का ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । सोमबार सोमबार मात्रै उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
औषधि बिना नै कपिलवस्तुकि नर्सले जितिन कोरोना
79