बुटवल कोरोना अस्पतालबाट १० जना संक्रमित डिस्चार्ज , प्रदेश ५ मा कोरोना मुक्त हुने ३० पुगे

बुटवल । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका १० जना संक्रमित निको भएर एक साथ ‘डिस्चार्ज’ भएका छन् । निकोहुनेहरुमध्ये सबैजना कपिलवस्तुका रहेको र उनीहरु शनिबार नै घर फर्किएको अस्पतालले जनाएको छ ।
दुई साता अघि अस्पताल भर्ना गरिएका संक्रमितहरुको उपचार पश्चात लगातार दुई पटकको पीसीआर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले वताए । धागो कारखानको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए ।

बाँकेका खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबारमात्रै २१ जना संक्रमित निको भएर घर फर्किएको भोलीपल्ट बुटवलबाट ठूलो संख्यामा निको भएर घर फर्केका हुन् । यसअघि सोही अस्पतालबाट रुपन्देहीका पहिलो संक्रमित कोटहीमाईका २५ बर्षीय युवक पनि निको भएर डिस्चार्ज भएका थिए । योसँगै प्रदेश ५ मा कोरोनालाई जित्ने व्यक्तिहरुको संख्या ३२ पुगेको छ ।बुटवलको कोरोना अस्पतालका फोकल पर्सन डा. थापाले बिरामीलाई निको बनाएर पठाउँदा खुसी लागेको वताए ।

त्यस्तै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् संक्रमणमुक्त भएकाहरुलाई बधाई दिंदै उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापक र अन्य सहयोगी सबैलाई बधाई दिएका छन् ।
‘बुटवलको धागो कारखानामा रहेको प्रदेशस्तरिय कोरोना विशेष अस्पतालबाट आज १० जना कोरोना भाइरस जितेर विदा हुनु भएको छ । बधाई स्वाूस्थ्यलाभ गर्नुहुने सबैलाई । अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापक र अन्य सबैलाई ।’ मुख्यमन्त्री पोखरेलले लेखेका छन् ।

प्रदेश पाँचको कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ। जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए । लकडाउनको पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने खनालले बताए ।

 
 
  
 

You may also like