नेता चौधरीको निधनप्रति क्षेत्रीय समितिद्वारा दुख व्यक्त

झबिन्द्र देवकोटा

बुटवल । नेपाली काङ्ग्रेसका नेता तथा पुर्व राज्यमन्त्री दुर्योधन सिह चौधरीको निधन भएकोमा काङ्ग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले गहिरो दुख ब्यक्त गरेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का काङ्ग्रेस सभापति हिरा बहादुर खत्रीले शनिबार एक शोक बिज्ञप्ति निकालेर नेता चौधरीको निधनले सिङ्गो पार्टीनै शोकमा डुबेको उल्लेख गर्नु भएको छ । नेता चौधरीले प्रजातान्त्रिक ब्यवस्थालाई संस्थागत गर्न तथा जनताका समस्या बुझ्न् समाजमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै शोक सन्तप्त परिवारजन प्रति समबेदना प्रकट गर्दछौ, खत्रीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
वि.स. २०५१ सालको निर्वाचनमा निर्वाचित भएका चौधरी महिला तथा समाज कल्याण तत्पश्चात आपूर्ति सहायकमन्त्री र २०५६ मा निर्वाचित भई स्थानीय विकास राज्यमन्त्रीको जिम्मेवारी वहन गर्नु भएको थियो । उहाले नेपालकाे प्रजातान्त्रिक आन्दाेलनमा उल्लेखनीय याेगदान पुर्याउनु भएको थियो । ७० बर्षीय स्व. चौधरी वि.स. २०४८, २०५१ र २०५६ गरी तीन पटक रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको उम्मेदवार भई प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनु भएको थियो । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता चौधरीको शुक्रबार निधन भएकाे थियो । पूर्व राज्यमन्त्री चौधरीकाे गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएकाे हो ।

 
 
  
 

You may also like