बालुवाटारमा ओली-प्रचण्ड र देउवाबीच सामुहिक छलफल, के विषयमा हुँदैछ कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटारमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सामुहिक छलफल चलिरहेको छ । सामुहिक भेटघाट र छलफलमा नेपालको पछिल्लो परिस्थिति र परस्पर सहयोग र समझदारीका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

पुष्पकमल दाहाल प्रचण्डसँगको सामुहिक छलफल अघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल भएको थियो । विवादास्पद अध्यादेश खारेज भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटारमा बोलाएर भेटघाट र छलफल गरेका हुन् ।

‘एक घण्टा द्विपक्षीय छलफल भएपछि अहिले अर्का अध्यक्ष प्रचण्डसहित त्रिपक्षीय छलफल भइरहेको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने । कोरोना भाइरसको संक्रमणविरुद्ध सबै मिलेर अगाडि बढ्नेबारे छलफल भएको थापाले बताए ।

प्रतिपक्ष समेतको विरोधका कारण सरकारले शुक्रबार दुई अध्यादेश खारेज गरेको थियो । त्यसलगत्तै सुरुमा ओली र देउवाबीच तथा केहीबेरपछि ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्थासहित अध्यादेश ल्याइएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैबाट सरकारको विरोध भएको थियो ।

आक्रामक रुपमा प्रस्तुत भएका प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरुले त सरकारले वैधानिक हैसियत गुमाएको भन्दै प्रधानमन्त्री फेर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । यस्तै नेकपाका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिन सरकारलाई सुझाव दिएको थियो ।

पूर्व प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने आजको छलफलको विषयबारे आफूलाई जानकारी नभएको बताए । ‘प्रधानमन्त्री ज्यूले बोलाएर सभापति ज्यू बालुवाटार आउनु भयो । तर के–के कुराकानी भयो भन्ने चाहिँ मलाई थाहा भएन ।’

FacebookTwitterPinterestLinkedInMessenger

 
 
  
 

You may also like