दोस्रो संक्रमित प्रसिद्धीले जितिन् कोरोनालाई, अस्पतालबाट फर्किन् घर

काठमाडौं । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणलाई जितेर अस्पताल भर्ना भएकी दोस्रो कोरोना संक्रमित युवती आज (शनिबार) अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

कोरोना संक्रमण देखिएपछि चैत १० गते काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकी दोस्रो संक्रमित प्रसिद्धी श्रेष्ठ पूर्ण निको भएर आज अस्पतालबाट डिस्चार्ज भएकी हुन् । तानव र चिन्तासहित अस्पताल भर्ना भएकी उनी कोरोनालाई जितेपछि आज जीतको मुस्कानसहित अस्पतालबाट विदा भएकी हुन् ।

उनलाई पूर्ण निको भएपछि आज (शनिबार) टेकु अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

उनी गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरे पनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी पनि उपचारपछि घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

हिजो मात्र नेपालमा एकैपल्ट १४ जना संक्रमित देखिएका थिए । यता बाङलुङकी संक्रमित ६५ वर्षीया महिला पनि डिस्चार्ज हुँदैछिन् । उनी अन्तिम रिपोर्ट पर्खेर बसेकी छन् । यस्तै बाङलुङकी अर्की एक युवतीको पनि स्वाथ्यमा उल्लेख्य सुधार भइरहेको धवलागिरी अस्पतालले जनाएको छ ।

 

 
 
  
 

You may also like