आज हावाहुरीसहित असिना पानी पर्ने

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव थप मजबुत बन्दै गएको छ । जसका कारण आज (शनिबार) देशका धेरैजसो भूभागमा मेघ गर्जन, चट्याङ र हावाहुरीका साथ असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुनमान महाशाखाले जानकारी दिएको छ ।

पश्चिमी वायुको प्रभावकै कारण पूर्वका केही स्थानमा रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताएका छन् ।

‘अहिले पूर्वका ताप्लेजुङ, धनकुटालगायत क्षेत्रमा वर्षा भइरहेको छ,’ शनिबार बिहान मौसमविद् पौडेलले भने, ‘अहिले मुख्य सिस्टम (पश्चिमी वायुको) पूर्वतिर केन्द्रित छ, त्यही भएर अन्य क्षेत्रमा भन्दा आज त्यतै (पूर्व) बढी वर्षा तथा हिमपातको सम्भावना छ ।’

पश्चिम र मध्य क्षेत्रमा पनि वर्षाको सम्भावना त छ तर पूर्वको तुलनामा कम रहेको मौसमविद् पौडेलेको भनाइ छ । पूर्वी क्षेत्रमा भने आज असिनापानसहित हावाहुरी आउने सम्भावना छ । ‘त्यस्तो धेरै ठूलो त नआउनला तैपनि सामान्य सतर्कता अपनाउन आवश्यक छ,’ उनले भने ।

पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतिर सरेकाले पश्चिमतिर भने मौसम क्रमशः सुधार हुने क्रममा रहेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए । यस्तै आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताएका छन् ।

अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएकाले वर्षाको सम्भावना अहिलेदेखि नै रहेको अर्का मौसमविद् विभूति पोखरेलले बताइन् ।

 
 
  
 

You may also like