भाइरस सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने

बुटवल। नेपाल कम्युनिष्ट पार्टी नेकपा ले बुटवल उपमहानगर भरी कोराना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । नोबल कोरोना भाईरसको संक्रमणले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको परिवेशमा नेकपा रुपन्देही जिल्लाले बुटवल लगायत सबै स्थानीय तहमा सचेतना अभियान सञ्चालन गर्न लागेको हो ।

बुधवार बुटवलमा सम्पन्न नगर कमिटीको बैठकले कोरोना भाइरसबाट जोगिनका लागि नगरभित्रका सबै शाखा र टोल कमिटीहरुलाई परिचालन गरी सचेतनाका लागि जानकारीमूलक पर्चा घर घरमा वितरण गर्ने निर्णय गर्नुका साथै बुटवलभित्र सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्न विशेष पहल गर्ने निणर्य गरेको छ । बैठकले स्थानीय घोषणापत्रमा उल्लेख भए बमोजिमका योजनाहरु पुरा गर्ने र जनताको जिवनस्तरमा सकरात्मक परिवर्तन ल्याउने कार्यक्रम तथा बुटवलको समृद्धिका निमित्त अनुकुल हुने आयोजनाहरुको पहिचान गरी छलफल चलाउने निर्णय गरेको हो ।

बैठकले नगर कमिटीको सदस्यमा गोमा ज्ञवाली, शेरजंग गुरुङ्ग, बुद्धिप्रसाद ढकाल, ठाकुर गैरे र सिता खनाललाई मनोनयन गरेको उक्त बैठकले संगठित पार्टी सदस्यता नविकरणलाई आगामी चैत्र १५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ भने पार्टी केन्द्रले तय गरेको ३ महिने अभियान टोल टोलमा घरदैलो सहित गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले सिमित स्रोत र साधनले गर्दा विकास निर्माणका कामहरुले गति लिन नसके तापनि बुटवलमा तिव्र रुपले विकास भएको बताउनुभएको थियो । वहाँले निर्वाचनका समयमा जारी गरेको घोषणापत्र बमोजिम काम भए नभएको विषयमा पार्टीका हरेक कमिटीमा छलफल चलाउनुपर्ने बताउनुभएको थियो ।

त्यस्तै पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज दधिराम न्यौपानेले आत्मकेन्द्रीत सोच नराखी पार्टी कमिटीको अधिनमा चल्न कार्यकर्ताहरुलाई निर्देशन गर्नुभएको थियो । जिल्ला कमिटी अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले विकास र समृद्धिको अभियानमा सबै एकजुट हुन आब्हान गर्नुभएको थियो । प्रदेश कमिटीका सचिवालय सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशको राजधानी सबै हिसावले सुविधायुक्त स्थानमा हुने बताउनुभएको थियो । त्यस्तै प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव निर्मल जि।सी।ले पार्टी सदस्यता नविकरण समयमै सम्पन्न गर्न निर्देशन गर्नुभएको उक्त बैठकको सञ्चालन नारायण बन्जाडेले गर्नुभएको थियो ।

 
 
  
 

You may also like