डोल्पाको करेलीकाँडा गाउँमा अज्ञात रोगले घरैपिच्छे बिरामी

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित करेलीकाँडा गाउँमा अज्ञात रोगले ४० जना बिरामी परेका छन् ।

मुकुटेश्वर हिमालको फेदीमा रहेको गाउँमा ४५ घरधुरी छ । एक सातायता देखापरेको रोगले अहिलेसम्म ४० जना थला परेको स्थानीय सुवास लामाले जानकारी दिए । ‘४५ घरधुरी भएको करेलीकाँडा गाउँमा प्रकोप फैलिएको एक साताभन्दा बढी भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्,’ लामाले भने ।

अज्ञात रोगका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्त भएको उनको भनाइ छ । लामाका अनुसार बिरामी परेकामा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिंगाटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिने गरेको छ ।

अज्ञात रोगका कारण गाउँ नै थला परेको खबर पाएपछि प्रहरी र स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा जाँदै गरेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । सोमबार बिहान मात्रै स्थानीय जयबहादुर लामा र ताम्बा लामा निवेदनसहित गाउँमा स्वास्थकर्मी र औषधि पठाउन माग गर्दै नगरपालिकाको कार्यालयमा पुगेका थिए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like