रविलाई हिरासतमा राखेपछि शनिवार दिनभर के भयो चितवनमा !

by समतल अनलाइन

चितवन। टेलिभिजन प्रस्तोता रवि लामिछाने यतिवेला जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् ।

बिहीवार न्यूज २४ को कार्यालयबाट प्रहरीले पक्राउ गरि चितवन लगेयता उनी चितवन प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । उनीसँगै न्यूज २४ का युवराज कडेल र नर्स अस्मिता कार्की पनि प्रहरी हिरासतमा रहेका छन् ।

‘सेलिब्रेटी’ पत्रकार लामिछाने प्रहरी हिरासतमा पुगेसँगै उनका समर्थकहरुको बाक्लो उपस्थिति जिल्ला प्रहरी कार्यालय चितवन आसपास देखिएको छ ।

विहीवार राति नै काठमाडौंबाट चितवन लगिएका लामिछानेसहित तीन जनालाई शुक्रवार जिल्ला अदालतमा पेश गरिएको थियो ।

पूर्व सहकर्मी सालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धान गर्न भन्दै रविसहित तीन जनालाई चितवन लगिएको थियो । आत्महत्या गर्नुअघि खिचेको भनिएको एक भिडियो सार्वजनिक भएसँगै रविलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आत्महत्या अघि पुडासैनीले आफ्नो मृत्युको कारण रवि सहित कडेल र कार्की भएको बताएसँगै उनीहरुमाथि थप अनुसन्धान गर्न भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेसँगै रविसहित तीन जनामाथिको अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालत चितवनसँग १० दिनको समय माग गरेको थियो । तर अदालतले भने थप अनुसन्धानको लागि पाँच दिनको समय उपलव्ध गराएको थियो । अदालतले थप पाँच दिनको समय दिएसँगै रविसहितका तीन जना यति बेला चितवन प्रहरीको हिरासतमा रहेका छन् ।

रविको पक्ष र विपक्षमा प्रदर्शन

रविलाई पक्राउ गरि चितवन लगेसँगै चितवन तातेको छ । रविका समर्थकले उनको पक्षमा नाराबाजी गरिरहेका छन् ।
शुक्रवार रविमाथिको अनुसन्धानका लागि भन्दै अदालतले पाँच दिनको समय दिएसँगै उनका समर्थकले प्रहरीमाथि ढुंगामुढासहित आक्रमण गरेका थिए । त्यसक्रममा पाँच जना प्रहरी घाइते भएका थिए भने भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

शनिवार आज के भयो !

शनिवार विहानैदेखि चितवनको माहोल निकै तातेको थियो । शालिकराम पुडासैनीले न्याय पाउनु पर्ने भन्दै भरतपुरका युवाहरुले प्रदर्शन गरेका थिए । उनीहरुले निर्दोशलाई कुनै पनि वाहनामा फसाउन नहुने र पुडासैनीले मृत्यु अघि खिचेको भिडियोमा भनिए अनुसार निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

रवि समर्थकको नारावाजी

रवि लामिछानेलाई फसाउन खोजेको भन्दै सयौंको संख्यामा युवा र स्थानीयले प्रहरी प्रशासन र सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए । त्यसक्रममा उनीहरुले प्रहरीको भ्यानमा ढुंगामुढा बर्साएका थिए । फलस्वरुप प्रहरी भ्यानको सिसा फुटेको छ । भीड प्रहरी चौकी तर्फ अघि बढेपछि त्यसलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । त्यसक्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका थिए ।

रविलाई भेट्न गए कांग्रेस नेता

प्रहरी प्रशासन र सरकारकोसमेत रवि लामिछानेका समर्थकले विरोध गरिरहेका बेला नेपाली कांग्रेसका नेता दिलेन्द्र बडु रवि लामिछानेलाई राखिएको जिल्ला प्रहरी कार्यालय चितवन पुगेका छन् । त्यसक्रममा उनले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग निष्पक्ष छानवीनको लागि माग गरेका थिए । त्यसपछि रविलाई भेट्न उनी प्रहरी कार्यालय पुगेका थिए ।

रविले आफूसँगको भेटमा निष्पक्ष छानवीनमा सघाउन तयार रहेको बताएको बडुले जनाएका थिए ।

आन्दोलनकारीसँग रविको भेट

स्वतस्फूर्त भनिएको आन्दोलनमा सामाजिक अभियन्ता रमेश प्रसाई र ज्ञानेन्द्र शाही लगायतको पनि उपस्थिति रहेको छ । आन्दोलनकारीका तर्फबाट हिरासतमा रहेका रविलाई भेट्न रमेश प्रशाई प्रहरी कार्यालय पुगेका थिए ।

रविसँग भेटेर आएपछि प्रसाईले प्रहरी कार्यालय नजिक जम्मा भएका रविका समर्थक र सुभचिन्तकलाई रविको सन्देश सुनाएका थिए ।
रविले आफूसँग आन्दोलनमा घुसपैठ हुन सक्ने भएका कारण सचेत रहन आग्रह गरेको प्रसाइले सुनाए ।

आफ्नो र न्यायको पक्षमा भएको आन्दोलनमा एक जना घाइते हुँदा आफूलाई हिरासतमा बसेको भन्दा धेरै पीडा हुने रविले सुनाएको प्रसाईले आन्दोलनकारीलाई सुनाएका थिए । त्यसक्रममा धेरैले रविको पक्षमा नाराबाजी गरेका थिए । त्यस्तै अर्का अभियन्ता शाहीले पनि रविको पक्षमा चर्का भाषण गरेका थिए ।

गर्मीको वेवास्ता गर्दै नाराबाजी

चर्को गर्मीका बीच लामिछानेका समर्थकहरु दिनभर जसो चितवन जिल्ला प्रहरी कार्यालय अघि भेला भएर नाराबाजी गरेका थिए । दिउँसो पनि प्रहरी र प्रदर्शनकारीबीच केही बेर तनावको अवस्था बनेको थियो ।

चितवन मात्र होइन सामाजिक सञ्जाल पनि तात्यो

रवि लामिछानेको पक्ष र विपक्षमा सामाजिक सञ्जाल नराम्रोसँग विभाजित भएको छ । केहीले रविलाई फसाउने षड्यन्त्रको रुपमा व्याख्या गरिरहेका छन् भने केहीले अनुसन्धानमा रविले र उनका समर्थकले सघाउन पर्ने बताएका छन् ।

भीडले भनेकै आधारमा अदालतलेको फैसला नआउने कतिपयको मत छ ।

भीडको आधारमा फैसला आउने भए खै निर्मला प्रकरणमा अपराधी पक्राउ परेका र उनीहरु माथि कारवाही भएको भन्दै सामाजिक सञ्जालमा बहस जारी छ ।

तस्वीरहरु–नारायणी अनलाइन

 

 
 
  
 

You may also like