आज दिल्लीमा ट्रम्पको कार्यक्रम : भारतीय समकक्षीसँग भेट र प्रधानमन्त्री मोदीसँग वार्ता

by समतल अनलाइन

नयाँ दिल्ली । दुई दिने भारत भ्रमणका क्रममा सोमबार अहमदावादको भल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमाानस्थलमा अवतरण गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा व्यस्त हुने भएका छन् ।

राष्ट्रपति ट्रम्पले आज राष्ट्रपति भवनमा पुगेर भारतीय समकक्षी रामनाथ कोविन्दसँग भेट गर्ने भएका छन् । यसअघि ट्रम्पले राजघाट पुगेर भारतीय स्वतन्त्र सेनानी महात्मा गान्धीप्रति श्रद्धाञ्‍जली अपर्ण गरेका थिए ।

त्यसपछि हैदरावाद हाउसमा ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसहितको द्वीपक्षीय प्रतिनिधिमण्डलसँग वार्ता गर्ने कार्यतालिका रहेको छ । त्यहाँ द्वीपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदी हस्ताक्षरपछि संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

ट्रम्पले सोमबार मोटेरा स्टेडियममा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सम्बोधनका क्रममा भारतलाई तीन अर्ब अमेरिकी डलर बराबरको रक्षा उपकरणको सम्झौता गर्ने बताएका थिए । आज उक्त सम्झौतामा पनि हस्ताक्षर हुने भएको छ ।

अमेरिकी पहिलो महिला मेलानिया ट्रम्पले आजै दक्षिण मोतीबागस्थित दिल्ली गर्भमेन्ट स्कुलको अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँ उनले ‘ह्यापिनेस क्लास’ को समीक्षा गर्ने बताइएको छ ।

त्यसैगरी आजै भारतीय विदेशमन्त्री एस जयशंकर र उपराष्ट्रपति एम भेनकाय नायडुसँग भेट गर्ने कार्यक्रम छ । बेलुका ट्रम्प भारतीय समकक्षी कोविन्दले आयोजना गरेको ‘स्टेट बैंक्वेट’ मा सहभागी हुनेछन् ।

सोमबार ट्रम्प दम्पतीले आग्रास्थित ताज महलको अवलोकन गरेका थिए ।

ट्रम्प आफ्नो दुई दिने भ्रमण सकेर आजै राति १० बजे अमेरिका फर्किने एएनआईले जनाएको छ ।

 
 
  
 

You may also like