उखु किसानले पाएनन् भुक्तानी : उद्योगीले मात्र होइन, सरकारले समेत ढाँट्यो

by समतल अनलाइन

काठमाडौं। उद्योगीले करिब डेढ अर्ब रुपैयाँ नदिएपछि उखु किसानले पुसमा काठमाडौं आएर आन्दोलन गरे, सरकारले चिनी उद्योगीलाई माघ ७ भित्र सम्पूर्ण बक्यौता भुक्तानी गर्ने कागज गरायो । तर, सम्झौताको म्याद नाघेको १ महिना बित्दासमेत उद्योगीले बक्यौता भुक्तानी गरेका छैनन् ।

उद्योगीले मात्र होइन, सरकारले समेत किसानलाई १ अर्ब ३२ करोड अनुदान दिन बाँकी छ, त्यसमध्ये ९२ करोड जिल्ला पठाइए पनि किसानले अझै भुक्तानी पाएका छैनन् । ढिलोमा पुसभित्रै सरकारले रकम दिनुपर्नेमा थप ४१ करोड निकासा नै भएको छैन ।

उखु बिक्रीको करिब डेढ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि गत पुसमा काठमाडौं आएर आन्दोलन गरेका उखु किसानलाई रकम दिलाउन सरकारले चिनी मिललाई कागज गरायो । किसानलाई ७ माघसम्म सम्पूर्ण भुक्तानी दिलाउने बाचा गरेर जिल्ला फर्कायो ।

तर, म्याद नाघेको एक महिनासम्म उखु किसानले मिलबाट अझै एक अर्ब भुक्तानी पाएका छैनन् । त्यति मात्र होइन, सरकारले नै किसानलाई अनुदानबापत दिनुपर्ने एक अर्ब ३२ करोड समेत नदिएर धोका दिएको छ ।

किसानलाई सरकारले उखु काट्ने बेलामा (मंसिर, पुस) मा अघिल्लो वर्षको अनुदान दिइसक्नुपर्ने हो । तर, सरकारले आर्थिक वर्ष ०७४–७५ को २ करोडसहित १ अर्ब ३२ करोड रुपैयाँ अनुदान रकम दिन बाँकी छ ।

चिनी उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘त्यसमध्ये ९२ करोड जिल्ला–जिल्लामा पुगेको जानकारी आएको छ, तर अधिकांश किसानले पाएका छैनन्, बाँकी ४१ करोड ३९ लाख रुपैयाँ त केन्द्रबाट निकासा नै भएको छैन ।’

उद्योगीले रकम दिन अटेर गरिरहँदा पनि सरकारले हस्तक्षेप नगरेको महासंघका अध्यक्ष मैनालीले दुखेसो गरे । ‘उद्योगीले बाचा गरेअनुसार भुक्तानी नगरेको र सरकारले समेत अनुदान नदिएपछि देशभरका किसान पुनः आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेका छन्’, उनले भने ।

कसले कति भुक्तानी गर्न बाँकी ?
सरकारको ४१ करोड ३९ लाख अनुदान निकासामा पनि ढिलाइ गरेको छ । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान उपलब्ध गराउँछ । तर, गत वर्षको ४१ करोड ३९ लाख रुपैयाँ निकासा अझै गरिदिएको छैन । यो रकममा अघिल्लो आव ०७४–७५ को २ करोड रुपैयाँसमेत जोडिएको छ ।

यो अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बल्ल गत आइतबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, अर्थले अहिलेसम्म निर्णय गरेको छैन । उखु किसानलाई उपलब्ध गराउनुपर्ने १ अर्ब ३३ करोड रुपैयाँमध्ये अर्थले दशैंअघि ९२ करोड रुपैयाँँ निकासा दिएको थियो ।

‘लालपुर्जाका आधारमा अनुदान रकम उपलब्ध गराउन गत मंगलबार कृषि र उद्योग मन्त्रालयबाट निर्णय भएको छ,’ मैनालीले भने, ‘सबै किसानलाई पत्राचार पनि भएको छ । तर, सरकारले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पैसा पठाएको छैन ।’

चालू सिजनको उखु क्रसिङ सकिन लागेको छ । तर, किसानले रकम पाएका छैनन् । सर्लाहीको महालक्ष्मी सुगर मिलले किसानलाई ७ करोड रुपैयाँँ दिन बाँकी छ । केही दिनअघि मात्र ३ करोड रुपैयाँँ वितरण गरेको थियो । सो उद्योगले यसअघि ११ करोड २८ लाख रुपैयाँँ दिएको थियो ।

सर्लाहीको अन्नपूर्ण सुगर मिलले सबैभन्दा धेरै रकम किसानलाई दिन बाँकी छ । उक्त उद्योगले ४२ करोड रुपैयाँँ दिन बाँकी छ । उद्योगीले उद्योग नै बन्द गरेर बसेका छन् । रौतहटको श्रीराम सुगर मिलले २६ करोड ७७ लाख रुपैयाँँ किसानलाई भुक्तानी गर्न बाँकी छ । नवलपरासीको लुम्बिनी सुगर मिल र इन्दिरा सुगर मिलले ११–११ करोड भुक्तानी गर्न बाँकी छ । सिराहाको हिमालयन सुगर मिलले २० लाख ६४ हजार र कञ्चनपुरको महाकाली सुगर मिलले ६२ हजार रुपैयाँँ भुक्तानी गर्न बाँकी छ ।

किसानको भुक्तानी गर्न दबाब दिइरहेका छौं : मन्त्रालय
वाणिज्य मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले उद्योगीलाई दबाब दिएर किसानको बक्यौता तिर्न दबाब दिइरहेको जानकारी दिए । ‘किसानको पैसा नदिई उद्योगीलाई सुखै छैन,’ उनले भने, ‘बिस्तारै तिर्न थालेका छन् । हामीले पनि उद्योगीमाथि दबाब बढाइरहेका छौँ ।’

एक छाक खाएर उखु किसान आन्दोलनमा
सर्लाहीस्थित उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले आइतबार साँझ फोन निक्कै बेर उठाएनन् । पटक–पटक फोन गरेपछि मसिनो स्वरमा बोले । ‘सन्चो छैन, तपाईंलाई,’ गत १२ पुसमा सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी सुगर मिलको गेटैमा भेट गर्दा निक्कै जोसिलो भेटिएका रायले आइतबार मसिनो स्वरमा बोलेको पाएपछि मैले सोधेँ । उनले थकान धेरै भएको बताए ।

‘आजभोलि बिहान खाना खाँदैनौँ । आन्दोलन चलिरहेको छ,’ थकानका कारण खोतल्दै उनले मसिनो स्वरमै भने, ‘तर, गाउँ–गाउँमा पुगेर सबै किसान साथीले चिनी मिलबाट कति रकम भुक्तानी लिन बाँकी छ भन्ने कुराको पुर्जा संकलन गरिरहेका छौँ । आज पनि भर्खरै गाउँ पुगेर आएकाले थाकेको छु ।’ उनले आइतबार सर्लाहीको दक्षिणी गाउँहरू खैरहवा, बकैडिया, रहुवा, बगदह हुँदै गडैता बजारसम्म किसानलाई भेटेर घर फर्किएको बताए ।

धेरै किसानको बक्यौता उठ्न बाँकी रहेकाले प्रत्येक गाउँमा एक जनालाई नेतृत्व दिएर सबैको पुर्जा संकलन गर्न जिम्मा दिइएको उनले जानकारी दिए । समितिका अनुुसार सर्लाहीका अधिकांश उखु किसान पुरानो भुक्तानी माग गर्दै एक छाक मात्र खाएर फेरि आन्दोलनमा उत्रेका छन् । सर्लाहीको महालक्ष्मी र अन्नपूर्ण सुगर मिलले किसानको ५० करोड रुपैयाँँभन्दा बढी भुक्तानी दिन बाँकी छ । उद्योगीले रकम नदिएपछि किसानले सांकेतिक विरोधस्वरूप एक छाक मात्र खाएर आन्दोलन गरेको रायले बताए ।

संघर्ष समितिका सदस्य रमन मिश्रले उखु बेचेको पैसा नपाउँदा किसानहरू ऋणमा रहेको र घर धान्ने रकमसमेत नहुँदा खान समस्या हुन थालेको जानकारी दिए । त्यसैले एक छाक खाना नखाई बस्ने आन्दोलन गर्न थालिएको उनले बताए । ‘५ दिनयता गोडैता बजारका किसानले बिहानको छाक मात्र खाना खान थालेका छौँ,’ उनले भने, ‘बेलुका केही खाँदैनौँ ।’

उनका अनुसार बिहान २५–३० जना किसान भेला भएर सामूहिक खाने गरेका छन्न् । बेलुका पनि सामूहिक रूपमा भेला हुने, तर केही नखाई छलफल गरेर आ–आफ्ने घर जाने गरेका छन् । अझै ५ दिनसम्म एक छाक मात्र खाने कार्यक्रम गर्ने र त्यसपछि आन्दोलनको नयाँ स्वरूप तय गर्ने उनले बताए ।

समितिका अनुसार महालक्ष्मी चिनी मिलमा करिब १४ हजार र अन्नपूर्ण सुगर मिलमा करिब १६ हजार किसान आश्रित छन् । यीमध्ये अधिकांश अहिले एक छाक खाना खाएर ‘उपवास’ बसिरहेका छन् । समितिका अध्यक्ष रायले पैसा भुक्तानी नभएर काठमाडौं आएर पुनः आन्दोलन गर्ने जानकारी दिए । ‘सबै रकम चुक्ता नभएसम्म काठमाडौंबाट नफर्कने सोच पनि बनाएका छौँ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like