चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ५ प्रहरी घाइते

by समतल अनलाइन

चितवन– चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् ।
शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्‍याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शनमा उत्रिएका रवीका समर्थकले प्रहरीमाथि डुंगामुडा प्रहार गरेका हुन् । झडप हुँदा ५ जना प्रहरी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रूग्यास प्रहार गरेको जनाइएको छ ।

रवी लामिछानेका समर्थकले पाल टाँगेर प्रहरी कार्यालय अगाडि बस्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई हटाउनका लागि बल प्रयोग गर्दा झडप भएको हो ।

झडपका क्रममा प्रदर्शनकारीतर्फ भएको मानवीय क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । साँझसम्म रवी लामिछानेका समर्थकहरुले जिप्रका नछाडेपछि अश्रुग्यास प्रहार गरिएको बताइएको छ । उनका समर्थकले दिनभरजसो जिप्रका अगाडि नाराबाजीसहित प्रदर्शन गरी तोडफोडको प्रयास समेत गरेका थिए ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा जिल्ला अदालत चितवनले अनुसन्धानका रवी लामिछानेसहित तीन जनालाई ५ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतमा लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पनि उपस्थित थिए ।

 
 
  
 

You may also like