चीनमा कोरोना भाइरसको प्रकोप : नेपाल सरकारको प्रतीक्षा गर्दै नेपाली विद्यार्थी

by समतल अनलाइन

वुहानमा रहेका नेपाली विद्यार्थी मोहम्मद हरून र दिवंगर खोटेजा

काठमाडौं । ।तीन वर्षदेखि म यो सहरमा छु । हुपेई प्रान्तको यो सहर राजधानी बेइजिङदेखि १२ घण्टाको दूरीमा दक्षिण र सांघाईबाट नौ घन्टाको दूरीमा पश्चिम पर्छ । हुन त ३० डिसेम्बरमा नै यो रोगको विषयमा चिनियाँ सरकारलाई थाहा भइसकेको थियो । तर, यो कसरी फैलिन्छ भन्नेमा उनीहरू नै अलमलमा थिए ।

त्यसैले सरकारीस्तरबाट कुनै औपचारिक जानकारी आएको थिएन । अचानक २० जनवरीमा युनिभर्सिटीबाट इमेल आयो, ‘कोरोना भाइरस मान्छेबाट मान्छेमा फैलिन थालेको छ । सहरमा संक्रमण फैलिसकेको छ, त्यसैले सतर्क रहनु, बाहिर जाँदा मास्क लगाएर मात्र निस्किनु ।’ यस्तो इमेल आएपछि हामी सतर्क भयौं, तर त्यस्तो डरलाग्दो केही हो भन्ने सोचका थिएनौँ ।

दुई दिनपछि ठूलो खबर आयो– कोरोना भाइरसबाट ११ जनाको मृत्यु भयो, चार–पाँच सय जनामा संक्रमण भेटिएको छ । धमाधम सार्वजनिक यातायात बन्द हुन थाल्यो । पसलहरू पनि बन्द हुन थाले । २३ जनवरी (बिहीबार) दिउँसो १० बजेदेखि औपचारिक रूपमा सरकारले वुहान सहरलाई ‘लक्ड–डाउन’ गर्‍यो । सहरभित्र पस्न र सहरबाट बाहिर निस्कन पूर्ण रूपमा निषेध गरियो ।

संक्रमण र मृत्युका अपडेटहरू लगातार आइरहे । शनिबार बेलुकीसम्म त ४१ जनाको मृत्यु भएको घोषणा भएको छ । तीमध्ये ३८ जना त वुहान सहरका हुन् । अहिले १२ सयभन्दा बढी संक्रमित भएको औपचारिक जानकारी आएको छ । संक्रमितका परिवारलाई पनि सरकारले क्वारेन्टाइनमा राखेको छ । अब भोलि के अपडेट आउने हो भनेर सारा मान्छे त्रसित छन् ।

अहिले चिनियाँ नयाँ वर्ष भएकाले सबै विश्वविद्यालय बन्द छन् । त्यसैले अधिकांश विद्यार्थी घर गइसकेका थिए । विश्वविद्यालय यसै पनि सुनसान थिए । तर, अहिले सहर पनि सुनसान छ । हामी पनि होस्टेलको कोठाभित्र सीमित छौँ । हामीलाई बाहिर जाँदा पनि गेटमै स्वास्थ्य जाँच हुन्छ । बाहिर आउँदा पनि गेटमा फेरि जाँच हुन्छ । शरीरको तापक्रम बढेको जोसुकैलाई पनि तुरुन्तै सरकारी अस्पतालमा लगिन्छ ।

यो सहरमा नेपाली विद्यार्थी सयभन्दा बढी छन् । अहिले हामीले बनाएको वी–च्याट ग्रुपमा ९२ जना विद्यार्थी जोडिएका छन् । शारीरिक रूपमा हामी सबै नेपाली विद्यार्थी ठीकै छौँ, तर मानसिक रूपमा धेरै कमजोर भएका छौँ । हाछ्युँ लाग्दा पनि र एक–दुई पटक खोकी लाग्दा पनि के भयो भनेर डराउनुपर्ने अवस्था छ । बजार खुला छैनन्, खुलेका पसलमा पनि जान डर छ । त्यसैले यहाँ बस्न असाध्यै गाह्रो छ ।

घरमा पनि छिनछिनमा कुरा भइरहेको छ । सबैजना अत्तालिनु भएको छ । यस्तो वेलामा नेपाल सरकारले हामीलाई यहाँबाट उद्धार गरे हुन्थ्यो भन्ने लाग्छ । अमेरिका र फ्रान्सजस्ता देशका सरकारले आफ्ना नागरिकलाई चार्टर्ड फ्लाइटबाट फर्काउने तयारी गर्दै छन् । हाम्रो देशको सरकारले पनि जहाजको व्यवस्था गरोस्, लागेको भाडा हामी आफै तिर्छौ भनेर दूतावासलाई भनेका छौँ । दूतावासले आत्तिनु पर्दैन भनेको छ । तर, हामीलाई नेपाल फर्काउने विषयमा ठोस जवाफ दिएको छैन ।

सामान्य खोकी लाग्दा र हाछ्युँ आउँदा पनि डराउने अवस्था छ : मोहम्मद हरून
हुवाचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी वुहानमा मास्टर्सका विद्यार्थी
घर : सीतापाइला

३१ डिसेम्बरमा चिनियाँ साथीले मलाई वी–च्याटमा म्यासेज गरेको थियो । एकैपटक १६ जनालाई निमोनिया लागेको छ, यो फैलिन सक्छ, सी फुड नखानू भन्ने सन्देश थियो । हुन त वी–च्याटमा यस्ता म्यासेज आइरहेका हुन्छन् । धेरैजसो चाइनिज भाषामा हुन्छन्, त्यसैले हामीले बुझ्दैनौं र ध्यान दिन सक्दैनौं । त्यो म्यासेजलाई पनि हामीले खास गम्भीरतापूर्वक लिएनौं ।

अरूले पनि त्यो विषयमा धेरै चासो गरेनन् । २१ जनवरीमा एक्कासी डरलाग्दो समाचार आयो । कोरोना भाइरसको संक्रमणले ११ जनाको मृत्यु भयो, अरू चार–पाँच सय संक्रमित भएका छन् भन्ने खबर आयो । कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्छ भन्ने थाहा पाएपछि मान्छेहरू आत्तिन थाले ।

खासमा यो भाइरस हाम्रै युनिभर्सिटीबाट फैलिएको रहेछ । एक जना बिरामी थिए, जसलाई न्युरोको सर्जरी गरिएको थियो । उनी कोरोना भाइरसबाट संक्रमित छन् भन्ने अस्पतालले संकेत पनि पाएको थिएन । तर, उनको सर्जरीमा सहभागी ११ नर्स र एक जना डाक्टरलाई भाइरस सरेछ । यो खबरले सबैलाई गम्भीर बनायो ।

२३ तारिख अर्थात् गत बिहीबारदेखि त सरकारले सहर नै बन्द गर्‍यो । सहरबाहिर मात्र होइन, सहरभित्रै ओहोरदोहोर गर्न पनि गाह्रो भएको छ । फाट्टफुट्ट खुलेका पसलमा गएर सामान किन्न पनि डर छ । हामीले केही तरकारी किनेर ल्याएका थियौँ, साथीहरू आलुका दाना गनेर बसिरहेका छन् । हाम्रो विश्वविद्यालयमा करिब १५ सय विदेशी विद्यार्थी होलान् ।

तर, चिनियाँ नयाँ वर्षको सन्दर्भमा एक महिना बिदा छ । त्यसैले आधाजति विद्यार्थी आ–आफ्नो घर गएका छन् । हामी नेपाली २५ जनामध्ये १० जनाजति घर गएका छन् । यहाँ भएका साथीहरू पनि तनावमा छौँ । हामी स्वस्थ छौँ, तर डराएका छौं । केही गरी अस्पताल जानुप¥यो भने पनि झन् सर्ला भन्ने डर छ । सामान्य खोकी लाग्यो भने पनि कोरोना भाइरस हो कि भनेर शंका लाग्ने अवस्था आएको छ ।

चीनका विभिन्न सहर घुम्छौँ भनेर गएका चार जना साथीहरू इयु भन्ने सहरमा अड्किएका छन् । उनीहरू घुमेर युनिभर्सिटी फर्किने दिन नै वुहान सहर ‘लक्ड–डाउन’ भयो । अहिले उनीहरू सहर बाहिरै छन् । पैसा पनि सकियो, के गर्ने भनेर अलमलमा परेका छन् ।

अहिले वुहानमा भएका नेपाली विद्यार्थी वी–च्याट ग्रुपमा छन् । नेपाली दूतावासको तर्फबाट भन्दै कसैले एउटा फर्म सेयर गरेको छ । त्यो फर्म हामीले भरेर पठाएका छौँ । हामीलाई यो सहरबाट बाहिर निकाल्ने प्रयास गर्नुहोस् भनेर हामीले दूतावासलाई अनुरोध गरेका छौँ ।

सरकारले जहाजको व्यवस्था गरिदिने हो भने हामी आफै टिकट काटेर नेपाल जान्थ्यौँ । जसोतसो नेपाल पुग्ने हो भने हामीलाई मात्र होइन, परिवारलाई पनि ढुक्क हुन्थ्यो । तर, दूतावासको तर्पmबाट भरपर्दो जानकारी पाएका छैनौँ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like