गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजांच

by समतल अनलाइन

बुटवल । निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु ब्यापारमुखी मात्रै भए भन्ने आरोप लाग्दै आएको छ । केही अपवाद वाहेक यो सत्य पनि हो । तर बुटवलमा हालै स्थापना भएको एक नीजि उपचार केन्द्रले सामाजिक उत्तरदायित्वसहित जेष्ठ नागरिक र शुल्क तिर्न नसक्ने विरामीको निशुल्क चेकजांच शुरु गरेको छ ।

अस्पताल लाइनमा सोमबारदेखि सञ्चालनमा आएको गोल्ड मेडिक्रस हेल्थ केयर सेन्टरले ७० वर्ष उमेर माथिका सबै जेष्ठ नागरिक र शुल्क तिर्न नसक्ने विपन्न वर्गलाई सधैभरि निःशुल्क चेकजांच गर्न शुरुवात गरेको हो । रकमको अभावमा औषधि किन्न नसक्ने विपन्नलाई औषधि पनि निःशुल्क दिने संस्थाको नीति रहेको सञ्चालक यादव कार्कीले बताए ।

विद्यमान अवस्थामा सरकारी स्वास्थ्य संस्थाहरुले मात्रै सबै विरामीलाई उपचार सेवा पु¥याउन नसकिरहेको अवस्था रहेकाले स्वास्थ्य र शिक्षा क्षेत्रका सातजना व्यक्तिले एक करोड २० लाख रुपैयां लगानी गरेर हेल्थ केयर सेन्टर सञ्चालनमा ल्याइएको कार्कीले बताए । सेन्टरको सोमबार डा. नेत्र रानाले उद्घाटन गरे । हेल्थ केयर सेन्टरमा १० जना विशेषज्ञ डाक्टरहरुले विरामीको चेकजांच गर्ने कार्कीले बताए ।

सेन्टरलाई ओपीडी अर्थात वहिरंग उपचार सेवा केन्द्रका रुपमा स्थापित गर्ने र विरामीलाई छिटोछरितो र विश्वसनीय सेवा दिने लक्ष्य रहेको कार्कीले बताए । सेवा शुभारम्भका अवसरमा माघ ६ गतेदेखि ८ गतेसम्म तीन दिन सबै विरामीको चेकजांच (डाक्टरको शुल्क) निःशुल्क गरिएको र युरिक एसिड तथा मधेमेह (सुगर) रोगको परीक्षण पनि निःशुल्क गरेको कार्कीले जानकारी गराए ।

फूल बोडी चेकजांच र भिडियो एक्सरे शुल्कमा पनि ५० प्रतिशत छुट गरेको उनले बताए । ‘नीजि क्षेत्रका मेडिकललाई सेवामुखी बनाउन सकिन्छ भन्ने उदाहरण देशभर दिने हाम्रो उद्दश्य छ’–कार्कीले भने–‘विरामीमाथि ब्यापार गर्नुहुन्न भन्ने हाम्रो मूल मन्त्र र धर्म हो ।’

सेन्टरमा जनरल फिजिसियन सेवा, न्यूरो सर्जरी तथा नशा रोग, हाडजोर्नी, बाथ, छाला तथा यौन रोग, स्त्री तथा प्रसुति रोग, नाक,कान,घांटी, शिशु तथा बाल रोग, ल्याप्रोस्कोपिक सेवा, दैनिक ओपीडी सेवा, भिडियो एक्सरे, ल्याब तथा प्याथोलोजी सेवा, एक्सरे र ईसीजी,फिजियोथेरापी,प्लास्टर र सबैखाले औषधि पाइने फार्मेसी सेवा उपलब्ध रहेको उनले बताए ।

संस्थाले स्वास्थ्य उपचारको सहज पहुंच नपुगेका प्रदेश ५ का दुर्गम र विकट क्षेत्रमा स्थानीयले माग गरेमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।

 
 
  
 

You may also like