बेलायती राजकुमार ह्यारी र मेगनको शाही पदवी खोसिने, शाही कोष पनि प्रयोग गर्न नपाउने

by समतल अनलाइन

लण्डन। बेलायती राजकुमार ह्यारी त था उनकी श्रीमती मेगनको शाही पदवी खोसिने भएको छ ।उनीहरुले आउँदो वसन्त ऋतुदेखि ‘हिज, हर रोयल हाइनेन्’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङघम राजदरबारले शनिबार घोषणा गरेको छ । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर चाहिं सम्बोधन गरिने छ ।

केही शाही विश्लेषकले यसलाई रानीको कडा निर्णयका रुपमा पनि लिएका छन्। ‘द ड्युक एण्ड डचेस अफ ससिक्स’ ले वीन्डजोर बर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउन्ड पनि तिर्ने भएका छन् ।

उनीहरु सैन्य नियुक्तिबाट हट्ने र बेलायती महारानीको औपचारिक प्रतिनिधित्व समेत नगर्ने बीबीसीले जनाएको छ । विज्ञप्तिमा ह्यारी दम्पतीको सुरक्षा प्रबन्धबारे भने केही खुलाइएको छैन ।

रानीले महिनौंको छलफलपछि नाति र उनको परिवारका लागि रचनात्मक एवं सहयोगी बाटो पहिल्याएको भन्दै खुशी व्यक्त गरेकी छन् । उनले ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची आफ्नो परिवारमा सधैं प्रिय रहिरहने पनि उल्लेख गरेकी छन् । ह्यारी परिवारमा खुशी र शान्तिपूर्ण नयाँ जीवनको कामना पनि रानीले गरेकी छन् ।

विज्ञप्तिमा ह्यारी दम्पतीले आफूहरुको नयाँ स्वतन्त्र जीवनका लागि महारानी र राजपरिवारबाट प्राप्त समर्थनप्रति आभार व्यक्त गरेको पनि जनाइएको छ । ह्यारी दम्पतीको शाही भूमिका परित्यागबारे महारानी एलिजावेथ द्वितीयाले गत सोमबार आफ्ना परिवारका वरिष्ठ सदस्यहरुसँग स्यान्ड्रिङ्गम दरबारमा छलफल गरेकी थिइन् । एजेन्सी

 

 
 
  
 

You may also like