अमेरिकी जनतामाथि आक्रमण भए इरानका ५२ स्थानमा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी

by समतल अनलाइन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सुलेमानी हत्याको उचित बदला लिने धम्की दिएसँगै ट्रम्पले अमेरिकी जनता र सम्पत्तिमाथि आक्रमण भए इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने चेतावनी दिएका छन् ।

आफ्ना सैन्य कमान्डर अमेरिकी हवाई आक्रमणमा मारिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनीले अमेरिकासँग उचित बदला लिने चेतावनी दिएका थिए ।

‘आफ्ना सैन्य कमान्डरको मृत्युपछि इरानले अमेरिकी सम्पत्तिमाथि निशाना बनाउनेबारे साहसपूर्वक कुरा गरिरहेको छ’, ट्रम्पले टि्वटरमा लेखेका छन्, ‘यदि त्यसो भएमा इरानका ५२ क्षेत्र अमेरिकाको तारो बन्ने छन् ।’

त्यस्ता ५२ क्षेत्र इरानले केही वर्ष पहिले नियन्त्रणमा लिएका आफ्ना नागरिकहरूको प्रतिनिधित्व हुनेगरी सूचीकृत गरिएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले त्यस्ता ५२ क्षेत्र कुन-कुन् हुन् भनेर विस्तारमा नखुलाए पनि इरान र यसको संस्कृतिका लागि ती महत्त्वपूर्ण रहेको बताएका छन् । यद्यपि, ट्रम्पले अमेरिकाले अन्यबाट कुनै पनि चेतावनी नचाहेको बताएका छन् ।

शुक्रबार इराकको बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी इरानी सैन्य कमान्डर सुलेमानी मारिएका थिए । केही घाइते भएका छन् । यो प्रकरणसँगै दुई देशबीच चेतावनी र धम्कीको शृंखला चलिरहेको छ । मध्यपूर्वमा यो घटनाले अशान्ति निम्तिने खतरा बढेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।

अमेरिका-इरान युद्धको सन्त्रास

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अन्तर्राष्ट्रिय समुदायले गरेको आणविक सम्झौता एकपक्षीय रूपमा तोडे । राष्ट्रपति बाराक ओबामाको पालामा इरानको आणविक कार्यक्रम रोक्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्य र जर्मनीले इरानसँग उक्त सम्झौता गरेका थिए। आणविक कार्यक्रम रोकेबापत् इरानले यी देशले लगाएको प्रतिबन्धमा केही राहत पाएको थियो।

२०१६मा राष्ट्रपति चुनिएका ट्रम्पले उक्त सम्झौता खारेज गरे र इरानमाथिको प्रतिबन्ध थप कसिलो बनाए। त्यसयता मध्यपूर्वमा बलियो पकड भएको तेहरान र वासिङ्टनबीचको सम्बन्ध झनझनै बिग्रँदै गएको छ।

शुक्रबार बिहान इराकको राजधानी बग्दादमा अमेरिकाले ड्रोन आक्रमण गरी इरानका दोस्रो शक्तिशाली व्यक्ति मेजर जनरल कसिम सुलेमानीलाई मारिदियो। सुलेमानी एलिट कद्स फोर्सका प्रमुख थिए। रेभुलसनरी गार्डअन्तर्गतको यो सैन्य संगठनले इरानी सीमाबाहिर आफ्नो कार्यक्षेत्र बनाएको छ । यसको प्रमुख इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनी छन् ।

एजेन्सी

 
 
  
 

You may also like