बुटवल । गृहकार्य नगरेको भन्दै रूपन्देहीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् ।सम्मरीमाई गाउपालिका- ६ मा रहेको ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् । कुटाइबाट १० वर्षीय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ ।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको धुनियाका हजुरबुवा मोहम्मद हुसेनले जानकारी दिए । तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरे ।
शिक्षकलाई अटेरी गरेको र गृहकार्य नगरेको कारण शिक्षकले उनलाई सामान्य तर्साएको उनको दावी छ । विद्यार्थी कुटपिट गर्ने बरई शिक्षक फरार छन् । सोही दिनदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । आफ्नो सन्तान निर्घात कुटिएर उजुरी दिन जाँदा प्रहरीले उजुरी लिन नमानेको परिवारको गुनासो छ । तर, प्रक्रिया नर्पुयाइ उजुरी आएकाले दर्ता नगरिएको इलाका प्रहरी कार्यालय मर्चवार प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालको भनाई छ ।
घाइतेको उपचारमा ध्यान दिन र प्रक्रिया पुर्याएर उजुरी दिन आफूले आग्रह गरेको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मर्चवार प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले फरार शिक्षको खोजी गरिहेको र उनी भेटिएपछि प्रक्रिया पुर्याएर पक्राउ गरी आवश्यक कारवाही गर्ने बताए ।