बुटवलमा सुकुम्बासी जग्गाको नापजाँच तथा अभिलेखिकरण सुरु

by समतल अनलाइन

बुटवल । बुटवल उप–महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने अव्यवस्थित बसोबास व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क संकलन गर्ने कामको थालनी गरेको छ । बुटवल वडा नं ११ को सुकुम्बासी बस्ती संजिवनी चोकबाट नापजाँच गरि अभिलेखिकरणको काम सुरुवात गरेको हो ।

नगरको प्रथम बैठकबाट पारित योजना अनुसार अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा व्यवस्थापन समितिले तथ्याङ्क संकलनको लागि नापी सुरु भएको हो । चैत्र मसान्तभित्र पहिलो चरणको मापन सकेर दोस्रो चरणको नापी कार्य सुरुआत गरिने उपमहानगरपालिकाले जानकारी दिएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अब्यवस्थित बसोबास ब्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाच एवं अभिलेखिकरण कामको सुवाआत भएको जानकारी दिए ।
उनले पहिलो चरणको नापी सकेपछि दोस्रो चरणको नापी गरिने जानकारी उपमहानगरपालिका अन्तर्गतका सुकुम्बासी तथा सार्वजनिक जग्गाको तथ्याङ्क संकलन हुने बताए । ‘तथ्याँक संकलनलाई विवाद रहित र न्यायपूर्ण बनाउनका लागि सामाजिक संघ–संस्था र स्थानियको सहयोगको अपेक्षा गरेका छौं ।’ उनले भने ।
शुरुवातमा वडा नं ११ को लालपुर्जा जग्गालाई सिमानामानी ८० विगाहा क्षेत्रफल मापन गरिने छ । वडा नं ११ का वडाअध्यक्ष तथा नापजांचका संयोजक रामचन्द्र क्षेत्रीले १८ हजार घरधुरीको लगत संकलन भईसकेको जानकारी दिदैं सुकुम्बासी बस्तीको तथ्याङ्क संकलनमा सहयोग गर्न सबैलाइृ अनुरोध गरे ।
आधुनिक ढंगबाट नापजाँचको लागी ग्लोबल टेण्डर आव्हान गरि क्रियशन एजुकेशनल एण्ड कन्ट्रक्सन प्रालिलाई जिम्मा दिईसकिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । जग्गाको तथ्याङ्क संकलनका लागि उपमहानगरले ११ लाख ९२ हजार बढी बजेट विनियोजन गरेको छ ।

नगरभित्र कूल १६ हजार ५ सय घरधुरी अव्यवस्थित तथा सुकुम्बासी रहेकोमा वडा नम्बर ११ देविनगरमा सबैभन्दा बढी ६ हजार ५ सय घर–धुरी रहेका छन् । नापी अवधिभर तथा नापी भइसकेपछि खाली जग्गामा संरचना नबनाउन तथा बिक्रि वितरण नगर्न यसअघि नै सुचना भैसकेको छ ।
नापीका क्रममा रंगशालामार्गमा ढल, खानेपानी र सडकका लागि ५१ फिटको बाटो छोडिने छ भने त्यसभन्दा तलका मार्गहरुमा हाल रहेका बाटोको चौडाईअनुसार नै रहनेगरी तथ्यांक संकलन हुने उपमहानगरले जनाएको छ ।
तिनाउ नदी करिडोरको डिपिआर अन्तिम चरणमा पुगेको छ । मापदण्ड अनुसार नदीको वहाव क्षेत्र छाडेर त्यसभन्दा माथी करिडोरका लागि १५ मिटरको बाटो बनाइने र करिडोरमा पर्ने बस्तिहरुलाई हटाइने छ । पुनःबासका लागि नगरले ४ विगाह जग्गा पहिचान गरेर राखीसकेको बुटवल ११ का वडाध्यक्ष क्षेत्रीले बताए ।

 
 
  
 

You may also like