नेपालको सिमा रक्षा गर्ने काममा आदिवासी जनजातिको ठूलो योगदान छ: काग्रेस नेता खाँण

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालको सिमा रक्षा गर्ने काममा आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेको बताउनु भएको छ ।
\
२५ औं विश्व आदिवासी जनजाति दिवसको मूल समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्व रक्षा मन्त्री समेत रहेका खाँणले नेपालको आफ्नै सिमा सुरक्षाबाल नभएपनि भूमि रक्षा गर्ने काममा सिमानामा बस्ने आदिवासी समुदायको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।
काग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले संसदीय समितिको निर्देशनलाई नटेर्दै संविधानको विरुद्ध गएर लोकसेवा आयोगले समावेशीताको सिद्धान्तलाई लत्याउनु दुःखद भएको समेत बताउनु भयो । यसले यहाँका जल, जमिन र भूमी जोगाएर बस्ने आदिवासी जनजाति, मुस्लिम, दलित, महिला लगायतलाई अन्यायमा पारेको उहाँको ठहर थियो । नेपालको संविधान भित्र रहेर यहाँको विविधता र सहअस्तित्वलाई सबैले स्वीकार गर्नु पर्ने उहाँको भनाई थियो ।

फरक प्रसंगमा उहाले देश निरंकुशतातर्फ उन्मूख भएको दावी गर्नुभयो । सामान्य आयोगहरुले संविधान विपरित काम गर्नु, गैरन्यायिक हत्या बढ्नु यसको पुष्टि गर्ने आधार भएको उहाँको भनाई थियो । यसले लोकतन्त्र नै खतरामा परिसकेको तर्क उहाले गर्नु भयो । उहाले भन्नुभयो ‘मुठभेडमा मारियो भनिएको छ, मर्ने मान्छेको हात खुट्टा भाँचिएका छन्, बंगारा झरेका छन्, यस्तो पनि मूठभेड हुन्छ? उहाँको प्रश्न थियो । सरकारका यस्तो क्रियाकलापले देशमा निरंकुशतालाई बढावा दिएको भन्दै यसबाट सबैभन्दा खतरा लोकतन्त्रमा पर्ने उहाले बताउनु भयो । लोकतन्त्र नै नरहे यहाँ पहिचानको आन्दोलनको पनि अर्थ नहुने भन्दै पहिचानको आन्दोलन निष्कर्षमा पू¥याउन पहिले लोकतन्त्र बचाउनु पर्ने सुझाव दिनुभयो । सरकार असफल भएको तर्फ इङ्गित गर्दै उहाँले सरकारको निरङ्कुशताका विरुद्ध सबैले बोल्नु पर्ने समय आएको बताउनु भयो ।

अर्का वक्ता नेकपाका नेता तथा प्रदेश सभा सदस्य तुलाराम घर्तीमगरले संविधानले बहिष्करणमा परेका समुदायलाई आंशिक अधिकार मात्र दिएको बताउनु भयो । यसलाई कार्यान्वयन गर्दै बाँकी व्यवस्थाका लागि निरन्तर लाग्नुपर्ने बताउनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शंकर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति अभियन्ता सञ्जोग लाफा, फोनिज अध्यक्ष सनु थापा, नेफिन बुटवलका अध्यक्ष अरुण कुमार श्रेष्ठ, नेपाल मगर संघका जिल्ला अध्यक्ष गीता सारु, नेवा पुचःबुटवलका अध्यक्ष काजीमान श्रेष्ठ, वीर बहादुर तामाङ, चित्रलाल तुलाचन लगायतले बोल्नु भएको थियो । सो अवसरमा साहित्यकार देवेन्द्र शाक्य,गायक भक्त थापा लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सभापूर्व बुटवलको गोलपार्कबाट बृहत्त र्याली निकालिएको थियो । र्याली बुटवलमण्डपमा आई मूल समारोहमा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस

 
 
  
 

You may also like