प्रशासनको निर्णय माथि ब्यबसायी अत्तालिए

by समतल अनलाइन

बुटवल, साउन २५ । रुपन्देहीमा पार्टी प्यालेसमा तिज मनाउन प्रशाशनले रोक लगाएपछि ब्याबसायीहरु अत्तालिएको बताएका छन् । प्रशासनको यो निर्णयले ब्यापार गर्न पाउने अधिकारलाई कुण्ठित भएको उनीहरुको भनाई रहेको छ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ र रुपन्देही मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघले शनिबार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै तीज कार्यक्रम होटल र पार्टी प्यालेसमा गर्न नपाइने निर्णय सच्याउन माग गरे ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रदेश ५ अध्यक्ष लक्ष्मण पोखरेलले भने, ‘प्रशासनले चाडबाडमा सुरक्षा व्यवस्था बढाउनुको साटो तीजको मर्म विपरित संस्कृति माथि नै बन्देज लगाउन खोज्नु दुर्भाग्य छ ।’

रुपन्देही मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष बलराम पौडेलले प्रशासनको कडाइले आफूहरुको अर्बौंको लगानी डुब्ने खतरा रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले साउन २१ गते विज्ञप्ति निकाल्दै तीजको दर खाने नाममा अहिलेदेखि नै होटल र पार्टी प्यालेस बुकिङ गर्न सुरु गरिसकेको जानकारीमा आएको भन्दै होटल रेष्टुरेण्टमा दर खाने, महंगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनी प्रदुषण हुने कार्य नगर्न सबैलाई निर्देशन दिएको थियो ।

 
 
  
 

You may also like