बालबालिकाहरुले हात नधोइ पाउरोटी छुँदा यस्तो भयो !

by समतल अनलाइन

एजेन्सी । विशेषगरी जाडो मौसममा मान्छेलाई चाँडै चिसो लाग्ने र संक्रमण हुने गर्दछ । यस्तोमा आफ्ना विद्यार्थीहरुलाई स्वस्थ राख्न संघर्षरत् एक स्कुलकी शिक्षिकाले वैज्ञानिक अनुसन्धानमार्फत बालबालिकाहरुलाई महत्वपूर्ण पाठ सिकाएकी छन् । विद्यार्थीहरुलाई हात धुने बानीको महत्व सिकाउनकै लागि व्यवहारिक शिक्षा सम्बन्धी विश्लेषक जाराली मेटकाफले शिक्षिका डाएना रोबर्टसनसँग मिलेर एक अनौठो तर प्रभावकारी तरिका अपनाएकी हुन् ।

यसमा भिन्दाभिन्दै तरिकाले छोएर फोहोर गरिएका पाउरोटीका पाँचवटा टुक्रालाई छुट्टाछुट्टै प्लास्टिक ब्यागमा संकलन गरि राखिएको हो ।

जसमा एउटा टुक्रा कसैले छोएको थिएन, दोस्रोलाई साबुन पानीले धोएको हातले छोइएको थियो, तेस्रोलाई ह्यान्ड स्यानिटाइजरले सफा गरिएको हातले र चौथो चाहिँ फोहोर हातले छोइएको थियो ।

अन्तिम टुक्रालाई भने स्कुलमा विद्यार्थीहरुले चलाउने ल्यापटपमा दलिएको थियो ।

यसरी केही निश्चित समयका लागि तिनलाई त्यसरी नै छाड्दा, यसबाट प्राप्त नतिजाले सबैलाई आश्चर्यमा पारेको हो भने अत्यन्तै घिनलाग्दो भनि व्याख्या गरिएको छ किनकि किटाणुहरुले तिनलाई भयानक रुप दिइसकेका थिए ।

यसमा नछोएको र साबुन पानीले हात धोएर छोएको पाउरोटी सबैभन्दा राम्रो अवस्थामा थिए जसमा कुनै नोक्सान पुगेको थिएन । तर अन्य तीनवटामा चाहिँ ठूलो समस्या देखिएको हो ।

ती तीनवटै पाउरोटीका टुक्रामा बाक्लो ढुसी पलाएको थियो जसमा कुनै निलो, कुनै अलिअलि पहेँलो त कुनै पूरै कालो भइसकेका थिए ।

तीमध्येमा पनि ल्यापटप छोएको पाउरोटी सबैभन्दा बढी खराब भएको हो । मेटकाफका अनुसार यो अनुसन्धान केही हद्सम्म घिनलाग्दो भएपनि सबैका लागि अत्यन्तै जरुरी थियो ।

उनी भन्छिन्, “मेरो आठ महिनाको बच्चा यो वर्षको जाडोयाममा धेरैपटक बिरामी परिसक्यो । त्यस्तै म र मेरा पति पनि बारम्बार बिरामी परिरहने गरेका छौँ । त्यसैले स्वस्थ खानेकुराका साथै हात धुने लगायत स्वस्थ बानी विकसित गराउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ भन्ने मैले बुझिसकेँ । यसकारण म सबैमाझ यही सन्देश पुर्याउन चाहन्थेँ । र फेरि पनि भन्दैछु सधैँ हात धुनुपर्छ ।”

हरेक वर्ष अमेरिकामा जाडो सुरु हुनासाथै २० प्रतिशत मानिसहरु बिरामी पर्ने गरेका छन् । यसमा पनि बालबालिकाहरु विशेषगरी संवेदनशील मानिने गरेका छन् । किनकी उनीहरुको प्रतिरोघात्मक प्रणाली अपरिचित भाइरस र ब्याक्टेरियासँग लड्न विकसित भइसकेको हुँदैन ।

यस्तोमा यो अनुसन्धानपछि ह्यान्ड स्यानिटाइजर हात धुनुको विकल्प नभएको पुष्टि भएको जारालिले बताएकी हुन् ।

उनका अनुसार स्यानिटाइजरमा ६० प्रतिशत अल्कोहल भएमा मात्र यसले धेरै किटाणुहरु मार्न सक्छ तर साबुन पानी जत्तिको प्रभावकारी कहिल्यै हुन सक्दैन । त्यस्तै ल्यापटपलगायत दैनिक प्रयोग हुने उपकरणहरु चाहिँ नियमित सफा गर्ने गर्न उनले सुझाव दिएकी हुन् । स्यानिटाइजरले सफा गरेको हातले छोएको पाउरोटीको छेउमा पनि पहेँलो ढुसी पलाएको थियो भने ल्यापटपवाला पूरै कालो भइसकेको थियो ।

 
 
  
 

You may also like