भारतमा नागरिकतासम्बन्धी नयाँ कानून विवाद : मृत्यु हुनेको संख्या १४ पुग्यो

by समतल अनलाइन

नयाँदिल्ली। भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चार जनाको मृत्यु भएको स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच देशभर भएका झडपमा चारको मृत्यु भएसँगै नागरिकता कानून संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

‘शुक्रबार मृत्यु भएकामध्ये दुई जना छिमेकी जिल्ला मुजफ्परनगरका नागरिक हुन् भने दुई मिरूतका स्थानीय हुन्’, मिरूतका प्रमुख मेडिकल अधिकृत राजकुमारले एएफपीलाई बताए ।

प्रदर्शनका कारण राजधानी नयाँ दिल्लीलगायत खासगरी मुसलमान समुदाय रहेका शहरी क्षेत्रहरूमा जनजीवन प्रभावित बनेको स्थानीय टोलिभिजनहरूले उल्लेख गरेका छन् ।
प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् भने भीड नियन्त्रणका लागि प्रहरीले विशेष बलको प्रयोग गरेको छ । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका बताइएको छ ।

सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो । नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् ।

भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानूनी व्यवस्था छ । अंगीकृत नागरिकताका लागि भने ६ वर्षमात्र बसेको वा काम गरेको हुनुपर्ने नयाँ कानूनी व्यवस्था गरिएको छ । तर भारतीय मुस्लिमहरुले कानूनले मुसलमान समुदायमाथि विभेद गरेको आरोपसहित प्रदर्शन गर्दै आएका छन् । एजेन्सी

 
 
  
 

You may also like