विश्वकै कान्छी प्रधानमन्त्री भन्छिन्, ‘क्षमता भए उमेर र लिङ्गले अर्थ राख्दैन’

by समतल अनलाइन

हेलिन्सिकी। फिनल्यान्डमा ३४ वर्षीया सन्ना मरिन मंगलवार प्रधानमन्त्रीका रूपमा संसद्बाट अनुमोदित भएकी छन् । प्रधानमन्त्री मरिनले आफ्ना लागि कम उमेर वा महिला हुनुले कुनै अर्थ नराख्ने बताएकी छन् ।

उनले क्षमतामा विश्वास राख्ने गरेको स्पष्ट पारेकी छन् । मरिनले भनिन्, ‘मैले कहिले पनि आफ्नो उमेर वा लिङ्गको बारेमा सोचिनँ । म क्षमतामा विश्वास राख्छु ।’ उनले राजनीतिमा आउन मिलेको प्रेरणा र क्षमतामा विश्वास गरेका व्यक्तिप्रति आभार व्यक्त गरिन् ।

मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलका नेतृत्व महिलाहरूले गरेका छन् । गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलायन्स र स्वीडिस पीपल्स पार्टी रहेका छन् ।

राजीनितक अस्थिरतामा फसेको फिनल्यान्डकी प्रधानमन्त्री बनेकी मरिन विश्वकै सर्वाधिक कम उमेरमै प्रधानमन्त्री बन्ने व्यक्ति बन्न पुगेकी छन् । गठबन्धन सरकारका रहेका पाँच दलमध्ये फिनल्यान्ड सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी) ले प्रधानमन्त्रीमा उनको नाम सिफारिस गरेको थियो । कान्छा प्रधानमन्त्रीमध्ये यूक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ३९ वर्षकी छन् ।

हुलाक सेवामा भएको हडतालको विषयले भयानक रूप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएर राजीनामा गरेका थिए । प्रधानमन्त्रीका लागि निर्वाचित भएसँगै उनले छोटो वक्तव्य दिँदै सबै दललाई एकजुट हुन आह्वान गरेकी छन् ।

रिन्ने नेतृत्वको सरकारमा मरिन गत जुनदेखि यातायात तथा सञ्चारमन्त्री थिइन् भने सन् २०१५ देखि उनी संसद् हुन् । उनले यसअघि पनि विभिन्न राजनीतिक जिम्मेवारीमा रहेकी थिइन्। आमाले एक्लै हुर्काएकी मरिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गरेकी छन् भने विश्वविद्यालयमा पढ्न जानेमा उनी आफ्नो परिवारको पहिलो व्यक्ति पनि हुन् । अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like