उपनिर्वाचन : मध्यरातबाट मौन अबधि शुरु, के–के गर्न पाइँदैन ?

by समतल अनलाइन

काठमाडौं । आजको दुई दिनपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचनमार्फत मतदान कार्यक्रम हुँदैछ ।

निर्वाचन आयोगकाले उपचुनावका आवश्यक सबै तयारी पूरा भइसकेको जनाएको छ । आयोगको तयारी पूरा भएसँग उपनिर्वाचनको मौन अबधि पनि बुधबार मध्यरातिबाट नै शुरु भइसकेको छ । बुधबार मध्यराति १२ बजेदेखि मौन अवधि शुरु भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
के–के गर्न पाइँदैन ?

निर्वाचन आयोगले चुनावलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउनका लागि निर्वाचन आचार संहित लागू गर्ने गर्दछ । यसै आचारसंहिताभित्र नै मौन अवधि समेत पर्ने गर्छ । मौन अवधिमा निर्वाचनसम्बन्धी कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न–गराउन पाइँदैन । यस्तै वेबसाइट र सामाजिक सञ्जाल प्रयोग गरी भोट माग्न नपाइने निषेध गरिन्छ ।

मौन अवधिमा सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न गराउन, वेबसाइट, ट्वीटर, फेसबुक, भाइबर, एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यम प्रयोग गरी मत माग्न निधेष गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको मौन अवधिलाई कडाइका साथ पालना गरिदिन निर्वाचन आयोगले राजनीतिक दल, उम्मेद्वार र पार्टीका कार्यकर्ताहरुलाई आग्रह समेत गरेको छ ।

सकियो तयारी, मतदान केन्द्रमा पुगिसके कर्मचारी

निर्वाचन आयोगले उपचुनावका लागि गर्नुपर्ने सबै तयारी बुधबार साँझसम्ममा सकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मीलगायत सम्बन्धित जिल्ला तथा मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयका कर्मचारी बाहेक मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा तीन सय ५४ कर्मचारी खटाइएको छ ।

मतदान केन्द्रमा दुई हजार ६८४ कर्मचारी र दुई हजार १६ स्वयंसेवक गरी जम्मा पाँच हजार ५४ जना खटिएको जनाइएको छ । उपनिर्वाचन हुने १५५ वडामा घरदैलो मतदाता शिक्षा कार्य सञ्चालन गर्न प्रत्येक वडामा दुई जनाका दरले ३१० मतदाता शिक्षा कार्यकर्ता खटिएका आयोगले जनाएको छ ।
यी हुन् उपनिर्वाचन हुने जिल्ला
एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ । सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।

 
 
  
 

You may also like