तिलोत्तमाको कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा

by समतल अनलाइन
39Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेनको उद्घाटन गरिएको छ। नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरदेवी चौधरीले सोमबार आयोजित समारोहबीच फाउन्टेनको उद्घाटन गरेका हुन्।

पर्यटकलाई आकर्षित गर्ने र स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले निर्माण गरिएको म्युजिकल वाटर फाउन्टेनले कुञ्जपार्कको आकर्षण थप्ने अपेक्षा गरिएको छ। संगीतको तालसँगै पानीको फोहोरा सञ्चालन हुने यो संरचनालाई क्षेत्रको पर्यटन विकाससँग जोडेर हेरिएको छ।

तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकका अनुसार कुञ्जलापुरको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्यसहित फाउन्टेन निर्माण गरिएको हो। पार्कसँगै सञ्चालनको तयारीमा रहेको नाइट पार्कले पनि यस क्षेत्रको आकर्षण बढाउने उनले बताए।

उद्घाटन कार्यक्रममा नगरप्रमुख खाणले कुञ्जपार्कसँगै बनबाटिका, बाउन्नकोटी र जमुहानी पार्कजस्ता पर्यटकीय स्थललाई जोडेर तिलोत्तमालाई घुम्नलायक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताए।

उपप्रमुख चौधरीले ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्व बोकेको कुञ्जपार्कलाई थप व्यवस्थित र आकर्षक बनाउन नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन्। प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले पनि पर्यटकको आकर्षण बढ्दै गएको कुञ्जपार्कमा प्राथमिकताका आधारमा बजेट विनियोजन गरी क्रमशः पूर्वाधार विकास गरिँदै आएको बताए।

फाउन्टेन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार करिब एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। तर, निर्माण कम्पनीले एक करोड २६ लाख रुपैयाँमा निर्माण सम्पन्न गरेको जनाइएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, वडाध्यक्ष गणेश पाठक, कुञ्जपार्कका लोक पुन, सुरेन्द्र श्रीलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले गरेका थिए।

म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएसँगै कुञ्जपार्कलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न र तिलोत्तमाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

You may also like