बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन्।
प्राप्त जानकारीअनुसार, २०८३ कात्तिक ९ गते साँझ करिब ५:१५ बजे गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटरको पछाडि सवार गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक निवासी ३७ वर्षीया माया कुँवर र स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ निवासी ३६ वर्षीया केशरी कुँवर घाइते भएका थिए।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी दोभानबाट खटिएको टोलीले दुवै घाइतेलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा माया कुँवरको मृत्यु भएको र स्कुटर चालक केशरी कुँवरको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

