खोटाङ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा खुकुरी प्रहार गरी चार जनालाई घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पक्राउ पर्नेमा ४३ वर्षीय नइन्द्रकुमार राई रहेका छन्। उनलाई कात्तिक ९ गते बिहान पक्राउ गरिएको हो। प्रहरीका अनुसार राईले गएराति करिब १२ः३० बजे चारजनालाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
खुकुरी प्रहारबाट ४० वर्षीया अन्जना राई, ६२ वर्षीया सेवन्त राई, २५ वर्षीया टेमिना राई र नरेन्द्र राई घाइते भएका छन्। घाइतेमध्ये टेमिनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।
गम्भीर घाइते टेमिनालाई दुर्छिमस्थित नगर अस्पतालमा प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। अन्य तीन जनाको उपचार नगर अस्पतालमै भइरहेको छ।
प्रहरीका अनुसार घाइतेहरू आरोपित नइन्द्रकुमारका परिवारका सदस्य हुन्। अन्जना उनकी श्रीमती, टेमिना साली, सेवन्त सासू र नरेन्द्र जेठान हुन्।
खुकुरी प्रहारबाट अन्जना र टेमिनाको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै, सेवन्तको टाउको र दाहिने हातमा तथा नरेन्द्रको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

