बुटवल । बडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरमा परम्परागत सराय नाच प्रदर्शन गरिएको छ। पहाडी जिल्लाको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको सराय नाचले देवीनगरमा दसैँको रौनक थपेको छ।
देवीनगरस्थित दुर्गा मन्दिर परिसरमा आयोजित सराय नाचमा सहभागीहरूले काठका परम्परागत हतियार प्रदर्शन गर्दै ‘वाक्खै वाक्खै’को लयमा नृत्य प्रस्तुत गरेका थिए। गुल्मी, अर्घाखाँची, पाल्पालगायत पहाडी जिल्लामा प्रचलित यो नाचलाई बुटवलमा बसोबास गर्दै आएका समुदायले पनि निरन्तरता दिँदै आएका छन्।
सराय नाच दसैँको टीकाको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म प्रदर्शन गर्ने परम्परा छ। खुँडा, भाला, तरबार र ढालजस्ता परम्परागत हतियार प्रयोग गरी युद्धकलाको झल्को दिने शैलीमा नाचिने यस नृत्यमा वीररस झल्किन्छ। विभिन्न भाका र लयमा हतियार जुधाउँदै प्रस्तुत गरिने सराय नाच धार्मिक आस्था, ऐतिहासिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको छ।
लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठान जिल्लाका विभिन्न कोटघर तथा दुर्गा र कालिका मन्दिरमा सराय नाचको विशेष महत्त्व छ। अर्घाखाँचीको अर्घा र गुल्मीको इस्मालगायतका क्षेत्रमा यसलाई दसैँको महत्त्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा मनाउने गरिन्छ।
पहाडी क्षेत्रका शक्तिपीठ र कोटघरमा सीमित रहेको यो परम्परा पछिल्लो समय बसाइँसराइसँगै तराईका विभिन्न क्षेत्रमा पनि विस्तार भएको छ। पहाडी जिल्लाबाट बुटवलमा बसाइँ सरेर आएका समुदायले आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामाझ यसको महत्त्व स्थापित गर्न सराय नाचलाई निरन्तरता दिँदै आएका छन्।
देवीनगरमा गरिएको सराय नाच प्रदर्शनले धार्मिक आस्था र सांस्कृतिक विरासतलाई जीवन्त राख्दै स्थानीय समुदायबीच परम्परागत चाडपर्वको उत्साहसमेत बढाएको छ।

