शिक्षा समन्वय इकाई रुपन्देहीको सरकारी गाडी दुरुपयोग भएपछि प्रहरीले लियो नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

पासबिनाको जिल्ल शिक्षा समन्वयको बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए । उनले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासनमा बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारवाही हुने जानकारी दिए ।

रुपन्देहीमा शनिबार सरकारी गाडीको दुरुपयोग

शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै शिक्षा समन्वय प्रमुख ढकाल मदिरा पार्टीमा फेला परेका थिए । सरकारी सवारी साधनको दुरुपयोग गर्दै ढकाल पाल्पाको नुवाकोट पुगेर मदिरा पार्टीमा सहभागी भएको भेटिएका थिए ।

उनले जिल्ला प्रशासन कार्यालयको अनुमती विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको समाचार आए लगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको निर्देशनमा ट्रापिक प्रहरीले गाडी नियन्त्रणमा लिएको बताइएको छ । शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुम्न पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा पुगेर मदिरा पार्टीमा रम्दै गरेको अवस्थामा फेला परेका थिए ।

उनीसँगै केही निजी विद्यालय संचालकहरु पनि साथमा रहेको बताइएपनि उनीहरुको बारेमा खुलासा भएको छैन । ढकालले यसअघि पनि पटक-पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

समाचार स्रोतका अनुसार ढकालसँगै काठमाडौंबाट आएका एक जना पत्रकार र पब्लिक मावि दयानगर छपियाका प्रधानाध्यापक पनि उक्त सवारी साधनमा रहेका थिए । उनीहरुको गाडी ट्राफिकले नियन्त्रणमा लिएपछि बुटवलमा रहेको स्कलर्स होमका प्रधानाध्यापक बाबुराम बन्जाडेले आफ्नो निजी गाडीमा राखेर उनीहरुलाई दयानगर छपियामा लगेका छन् ।

 
 
  
 

You may also like