बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन

by समतल अनलाइन

बुटवल ।प्रधानमन्त्री शेरबहादुर देउवा बुटवलमा निर्मित बुटवल सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट बुटवल मण्डपमा उत्रिएका देउवाले उद्घाटनसँगै सम्मेलन केन्द्रको अवलोकन गरेका थिए । बुटवल मण्डपमा निर्मित सभाहल र प्रर्दशनी स्थललाई शहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।

यो सभाहल सञ्चालनमा आएसँगै जाडो होस या चर्को गर्मी तथा वर्षाको बीचमा खुल्ला आकाशमुनी सभा सम्मेलन तथा विभिन्न कार्यक्रम गर्नुपर्ने बाध्यता हट्ने छ ।

सम्मेलन केन्द्र निर्माणका लागि २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि नाकाबन्दी र भूकम्पका कारण ढिलो गरी थालिएको सम्मेलन केन्द्रको काम कोरोना महामारीका कारण केही समय प्रभावित बन्यो ।

यद्यपि ढिलै भए पनि निर्माणको काम पूरा भएको छ । साना ठूला गरी एउटै छानोमुनि दुई हजार सात सय जना क्षमताका साना ठूला १३ वटा हलसहित तयार भएको अन्तर्राष्ट्रियस्तरको यो सम्मेलन केन्द्र काठमाडौं भन्दा बाहिरको सबभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो ।

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ । सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिगाह क्षेत्रफलमा भने अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ ।

 
 
  
 

You may also like