युवालाई विनाधितो सहुलियतपूर्ण कर्जा दिँदै तिलोत्तमा

by समतल अनलाइन
Shares

तिलोत्तमा। कोरोना महामारीको कारण रोजगारीका अवसर संकुचित भैरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमा चार लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो ।

पहिलो चरणमा दुई करोड रुपैंयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग उद्यम प्रस्ताव आह्वान गरेको छ । इच्छुक युवाहरुले जेठ ५ गतेसम्म आफूले गर्न चाहेको उद्यम सम्बन्धी प्रस्ताव नगरपालिकामा पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावअनुसार नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाले गत कार्तिकमा सम्पन्न गरेको लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाको लागि सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नगरपालिकाले बैंकको रिर्जब कोषमा कर्जा प्रवाहको लागि रकम जम्मा गरिसकेको छ ।

मूलतः बेरोजगार युवाहरुलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको व्याजदर पुरुषको हकमा वार्षिक ४.५० प्रतिशत, महिलाको हकमा वार्षिक ३.५० प्रतिशत छ ।

कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडी पारिएको वर्ग—समुदाय, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइने उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।

कर्जा प्रवाहका लागि तरकारी, फलफूल, पुष्प, च्याउ, जडिबुटी खेती, पशुपंक्षीपालन, मत्स्यपालन, नगदेबाली, घरेलु तथा कुटिर उद्योग र अन्य स्वरोजगारका क्षेत्रलाई प्राथमिकता दिइएको छ । भुक्तानीको अवधि बढीमा ५ वर्ष रहेको सहुलियतपूर्ण कर्जालाई युवाहरुको प्रस्तावअनुसार विस्तार गर्न सकिने नगर प्रमुख घिमिरेले बताउनुभयो ।

 

You may also like

This will close in 0 seconds