सफल केयरगिभर तालिम केन्द्रका २०० विद्यार्थी दीक्षित

by समतल अनलाइन
15Shares

बुटवल । बुटवल–४, पाल्पा रोडमा मुख्य कार्यालय रहेको सफल केयरगिभर तालिम केन्द्रको दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न भएको छ। तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित समारोहमा तालिम पूरा गरेका २०० जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो।
समारोहमा विद्यार्थी, अभिभावक, प्रशिक्षक, स्वास्थ्य संस्थाका प्रतिनिधि तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा तालिम पूरा गरेका विद्यार्थीहरूको मेहनत र उपलब्धिको प्रशंसा गर्दै उनीहरूको आगामी व्यावसायिक यात्राको सफलताका लागि शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले तालिमका क्रममा हासिल गरेका ज्ञान, सीप र अनुभव साझा गर्दै केयरगिभर पेसामार्फत आफ्नो व्यावसायिक भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सफल केयरगिभर तालिम केन्द्रका प्रबन्ध निर्देशक प्रदीप सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत एवं संस्थापक सावित्री खनालको नेतृत्वमा संस्था सञ्चालन हुँदै आएको छ। प्रबन्ध निर्देशक सुवेदीका अनुसार संस्थाले २०७३ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त गरी केयरगिभर तथा वृद्ध हेरचाहसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।

संस्थाले तीन महिनाको सीटीईभीटी सम्बन्धनप्राप्त केयरगिभर तालिम सञ्चालन गर्दै आएको सुवेदीले बताए। उक्त तालिममा सहभागी हुन न्यूनतम कक्षा ८ उत्तीर्ण गरेको र १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था छ। तालिम शुल्क ३५ हजार रुपैयाँ रहेको उनले जानकारी दिए।
तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप, अभ्यास तथा रोजगारीका लागि आवश्यक परामर्श र तयारीलाई प्राथमिकता दिइँदै आएको सुवेदीले बताए। उनका अनुसार संस्थामा कार्यरत प्रशिक्षकहरू प्रवीणता प्रमाणपत्र तह तथा स्नातक तहको नर्सिङ पृष्ठभूमिका छन्।

५ हजारभन्दा बढी विद्यार्थीले लिए तालिम

संस्थाका अनुसार हालसम्म ५ हजारभन्दा बढी विद्यार्थीले केयरगिभर तालिम पूरा गरिसकेका छन्। तालिम प्राप्त विद्यार्थीहरू नेपालका विभिन्न अस्पताल, हेरचाह गृह, स्वास्थ्य संस्था तथा अन्य क्षेत्रमा कार्यरत रहेको सुवेदीले बताए।
त्यसैगरी, संस्थाबाट तालिम लिएका विद्यार्थीहरूले इजरायल, जापान, बेलायत, अस्ट्रेलिया, क्यानडा तथा विभिन्न युरोपेली मुलुकमा केयरगिभर र वृद्ध हेरचाहसम्बन्धी क्षेत्रमा रोजगारी तथा व्यावसायिक अवसर प्राप्त गरिरहेको उनले जानकारी दिए। दुबई र साइप्रसलगायतका देशमा समेत संस्थाका पूर्वविद्यार्थी कार्यरत रहेको सुवेदीको भनाइ छ।

संस्थाका विद्यार्थीहरूको इजरायल सरकार–सरकार (जीटुजी) कार्यक्रमअन्तर्गतको सफलता पनि महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ। सुवेदीका अनुसार सन् २०२६ मा संस्थाबाट तालिम प्राप्त गरेका १८ जना विद्यार्थी इजरायलको सरकार–सरकार कार्यक्रमका लागि छनोट भएका छन्।

१० स्थानबाट तालिम सेवा

सफल केयरगिभर तालिम केन्द्रले हाल बुटवलसहित काठमाडौं, चितवन, हेटौंडा, नेपालगन्ज, झापा, सिन्धुली, बर्दिबास, धरान र धनगढी गरी १० स्थानबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।

केयरगिभर क्षेत्रमा बढ्दो माग र रोजगारीका अवसरलाई ध्यानमा राख्दै आगामी दिनमा नेपालका अन्य प्रमुख सहरमा समेत तालिम केन्द्र विस्तार गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ।

समारोहमा सहभागी अतिथिहरूले नेपालमा केयरगिभर तथा वृद्ध हेरचाहसम्बन्धी क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै व्यावसायिक तालिमसँगै व्यावहारिक ज्ञान र सीप विकासमा जोड दिनुपर्ने बताएका थिए।
संस्थाले आगामी दिनमा पनि गुणस्तरीय तालिम, व्यावहारिक अभ्यास, रोजगारी परामर्श तथा नेपाल र अन्तर्राष्ट्रिय श्रम बजारका अवसरसँग विद्यार्थीलाई जोड्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।

आयोजकका अनुसार दीक्षान्त समारोहले तालिम पूरा गरेका २०० विद्यार्थीको उपलब्धिलाई सम्मान गर्नुका साथै उनीहरूको आगामी व्यावसायिक यात्राका लागि उत्साह, प्रेरणा र आत्मविश्वास थपेको छ।

You may also like