बुटवल । बुटवल बसपार्क क्षेत्रलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीले सञ्चालन गरेको सरसफाइ अभियान छैटौं हप्तामा पुगेको छ ।
क्लबले हरेक शनिबार बिहान बसपार्क क्षेत्रमा नियमित रुपमा सरसफाइ गर्दै आएको छ । शनिबार पनि क्लबका पदाधिकारी तथा सदस्यहरु बसपार्क क्षेत्रमा पुगेर सरसफाइ गरेका हुन् ।
अभियानमा क्लबका अध्यक्ष लक्ष्मण खनाल, पूर्वअध्यक्ष गोकुल भण्डारीलगायतको सहभागिता रहेको थियो । उनीहरुले बसपार्क क्षेत्रको सडक तथा सार्वजनिक स्थानमा रहेको फोहोर संकलन गरी सरसफाइ गरेका थिए ।
बसपार्क क्षेत्रमा यात्रु तथा सर्वसाधारणको आवतजावत धेरै हुने भएकाले सार्वजनिक स्थान सफा राख्नुपर्ने भन्दै क्लबले नियमित रुपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको जनाएको छ । क्लबले ‘हरेक शनिबार बिहान, सफा रहोस् हाम्रो बुटवल’ भन्ने नारासहित अभियानलाई निरन्तरता दिएको हो ।
क्लबका पदाधिकारीहरुले शहर सफा राख्ने जिम्मेवारी स्थानीय सरकार वा कुनै एउटा संस्थाको मात्र नभई सबैको भएकाले सर्वसाधारणलाई समेत फोहोर जथाभावी नफाल्न आग्रह गरेका छन् ।
लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीले आगामी शनिबार पनि बसपार्क क्षेत्रमा सरसफाइ गर्ने जनाएको छ । नियमित सरसफाइसँगै बुटवललाई सफा र स्वच्छ शहर बनाउने अभियानमा समुदायको सहभागिता बढाउने क्लबको अपेक्षा छ ।

