बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

by समतल अनलाइन
32Shares

काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आधारभूत मूल्यमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ ।

कार्यालयले अन्तर्राष्ट्रिय मुद्रा कोषको अरिमा विधिको प्रयोग गरी तयार पारेको मौसमी प्रभाव समायोजित तथ्याङ्क अनुसार भने तेस्रो त्रैमासिक (माघ, फागुन र चैत) को तुलनामा चौथो त्रैमासिकमा जीडीपी १.५४ प्रतिशतले बढेको देखाएको हो । जुन वर्तमान सरकारको पहिलो त्रैमासिक अवधि हो ।

आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर स्थिर मूल्यमा मापन गरिएका यी अनुमानहरूले अर्थतन्त्रका अधिकांश क्षेत्रहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको सङ्केत गरेका छन् ।

विद्युत उत्पादन, प्रसारण तथा वितरण, बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एवम् ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम सङ्कलन र आवास तथा भोजन सेवाजस्ता क्षेत्रमा भएको विस्तारले समग्र आर्थिक वृद्धिमा मुख्य योगदान पुर्‍याएको छ । यद्यपि, सरकारी खर्चमा आएको कमी तथा आन्तरिक औद्योगिक र कृषि उत्पादनमा भएको सामान्य वृद्धिका कारण यस त्रैमासिकको समग्र आर्थिक वृद्धिदर सामान्य अवस्थामा नै सीमित रहेको देखिन्छ ।

समीक्षा अवधिमा अध्ययन गरिएका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ वटा क्षेत्रमा धनात्मक (सकारात्मक) वृद्धि रेकर्ड भएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा मात्र ऋणात्मक परिवर्तन देखिएको छ ।

वार्षिक क्षेत्रगत वृद्धिदरको अवस्था

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा मौसमी प्रभाव असमायोजित तथ्याङ्क अनुसार क्षेत्रगत आधारमा सबैभन्दा उच्च वृद्धि विद्युत तथा ग्याँस क्षेत्रमा २४.३६ प्रतिशत रहेको छ ।

यसैगरी वित्तीय तथा बीमा क्रियाकलापमा ९.०७ प्रतिशत, आवास तथा भोजन सेवामा ७.८४ प्रतिशत, र सूचना तथा सञ्चार क्षेत्रमा ७.६६ प्रतिशत को उल्लेखनीय वृद्धि भएको छ । यातायात तथा भण्डारण क्षेत्रमा ६.८१ प्रतिशत तथा प्रशासनिक र सहयोगी सेवा क्षेत्रमा ५.५५ प्रतिशतको वृद्धिदर मापन गरिएको छ ।

अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.९७ प्रतिशतको वृद्धि भएको छ, जुन स्वदेशी उत्पादन एवम् व्यापारजन्य वस्तुको आयातमा भएको सुधारको प्रतिफल हो। त्यसैगरी स्वास्थ्य तथा सामाजिक कार्यमा ४.७० प्रतिशत, अन्य सेवाहरूमा ३.८२ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रमा ३.३४ प्रतिशत, व्यावसायिक, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ३.१९ प्रतिशत, घरजग्गा कारोबारमा २.६८ प्रतिशत र निर्माण क्षेत्रमा २.३८ प्रतिशत को धनात्मक वृद्धिदर देखिएको छ ।

यसैगरी, नेपालको अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान पुर्‍याउँदै आएको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.३५ प्रतिशत मा सीमित रहेको छ, जसलाई कृषि तथा वन पैदावारमा भएको सामान्य वृद्धिले सकारात्मक बनाएको छ । औद्योगिक उत्पादनमा १.४४ प्रतिशत, खानेपानी, ढल तथा फोहोर व्यवस्थापनमा १.४३ प्रतिशत र शिक्षा क्षेत्रमा १.३२ प्रतिशतको वृद्धि देखिएको छ । अर्कोतर्फ, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा माइनस ०.१२ प्रतिशतको ऋणात्मक वृद्धिदर दर्ता भएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकको तुलनामा सोही वर्षको चौथो त्रैमासिकमा भएको मौसमी प्रभाव समायोजित वृद्धिदर हेर्दा पनि १७ वटा औद्योगिक क्षेत्रमा धनात्मक वृद्धिदर पाइएको छ। यस अवधिमा आवास तथा भोजन सेवामा ६.०५ प्रतिशत, विद्युत तथा ग्याँसमा ३.७६ प्रतिशत, खानी तथा उत्खननमा ३.२२ प्रतिशत, शिक्षा क्षेत्रमा ३.०७ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा २.९० प्रतिशत को वृद्धि भएको छ ।

यसैगरी सार्वजनिक प्रशासन तथा रक्षामा २.२१ प्रतिशत, वित्तीय तथा बिमा क्रियाकलापमा २.१० प्रतिशत र कृषि, वन तथा मत्स्य क्षेत्रमा १.०८ प्रतिशत को वृद्धि मापन गरिएको छ । तर, तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा औद्योगिक उत्पादन क्षेत्रमा भने माइनस ०.४८ प्रतिशत को ऋणात्मक परिवर्तन देखिएको छ ।

You may also like