ज्ञानपुञ्जमा ‘द लुमिना’ म्यागेजिन विमोचन

by समतल अनलाइन
22Shares

बुटवल । बुटवल उपमहानगरपालिका–१३ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक तथा साहित्यिक द्वैमासिक पत्रिका ‘द लुमिना’ प्रकाशनमा ल्याएको छ। विद्यालयमा आयोजित एक समारोहबीच वरिष्ठ साहित्यकार तथा समालोचक ऋषिराम भुसालले म्यागेजिनको विमोचन गरेका हुन्।

विद्यालय तहदेखि नै पठन संस्कृतिको विकास गर्ने तथा शिक्षक र विद्यार्थीलाई लेखनमा प्रोत्साहित गर्ने उद्देश्यले विद्यालयले म्यागेजिन प्रकाशन सुरु गरेको हो।

विमोचन समारोहमा बोल्दै साहित्यकार भुसालले ‘द लुमिना’ ले विद्यार्थीको सिर्जनात्मक अभिव्यक्ति र लेखनकलाको विकासमा सहयोग पुर्‍याउने बताए। पत्रिका प्रकाशनले विद्यार्थीमा सिर्जनशीलता बढाउनुका साथै सहिष्णुता र सकारात्मक सोचको विकास गर्नसमेत योगदान दिने उनको भनाइ थियो। उनले बालबालिकाको सिकाइ र व्यक्तित्व विकासका लागि अभिभावकले कम्तीमा दिनको एक छाक भए पनि छोराछोरीसँगै बसेर खाना खान आग्रह गरे।

म्यागेजिनका सल्लाहकार तथा लेखक एवं अध्येता रामचन्द्र श्रेष्ठले पत्रिका प्रकाशनले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउन सहयोग गर्ने बताए। विद्यालयमा रोबोटसँग विद्यार्थी नाचेको दृश्यभन्दा पनि रोबोट कसरी बनाउने भन्ने सीप सिकाउनु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगसँगै सिर्जनात्मक र व्यावहारिक ज्ञानमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा अभिभावक तथा समाजसेवी दिनानाथ भट्टराईले म्यागेजिनको निरन्तरताको शुभकामना दिँदै बालबालिकामा पठन संस्कृतिको जग बसाल्ने जिम्मेवारी अभिभावकको पनि भएको बताए।

विद्यालयका प्राचार्य शंकर भण्डारीले ‘द लुमिना’ ले शिक्षक तथा विद्यार्थीभित्र रहेका लेखन प्रतिभा प्रस्फुटन गर्नुका साथै विद्यालयलाई समुदायसँग जोड्ने विश्वास व्यक्त गरे। समाजका समस्या बुझ्न, ज्ञानको दायरा फराकिलो बनाउन र संस्कृतिको निर्माण गर्न पठन संस्कृतिको विकास आवश्यक रहेको उनले बताए।

विद्यार्थीको सिकाइलाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले विद्यालयले म्यागेजिन प्रकाशनसँगै भित्ते पत्रिका, घरघरमा पुस्तकालय स्थापना, विद्यालयमा खुला पुस्तकालय सञ्चालन तथा विद्यार्थीका लागि लेखन सीपसम्बन्धी तालिमजस्ता सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको प्राचार्य भण्डारीले जानकारी दिए।

विमोचन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, सहप्राचार्य भीम बस्नेत, म्यागेजिनका प्रमुख सम्पादक कृष्ण पाण्डेय, शिक्षक सरिता जिसीलगायतले मन्तव्य राखेका थिए।

अंग्रेजी र नेपाली दुवै भाषाका सामग्री समेटिएको ‘द लुमिना’ मा ८० प्रतिशत अंग्रेजी र २० प्रतिशत नेपाली भाषाका विषयवस्तु समावेश गरिएको विद्यालयले जनाएको छ।

You may also like