लकडाउन लम्ब्याउने तयारी, भोलि मन्त्रिपरिषदले निर्णय गर्ने

काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिने जनाएको छ । लकडाउनलाई निरन्तरता दिने निर्णय भए पनि कति दिन लम्ब्याइने भन्नेबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले बुधबार अपराह्न गर्नेछ ।

समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले बैठकपछि भने, ‘सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ । यसबारे थप निर्णय भोलि अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।’ बैठकमा छलफल भएको विषयबारे जानकारी दिँदै सचिव विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए ।

उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’ सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन जारी छ । पछिल्लो पटक थपिएको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । यसअघि सोमबार बसेको समितिको बैठकमा जनजीवन कसरी सामान्य बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा लकडाउनलाई पनि निरन्तरता दिइने निर्णयमा समिति पुगेको हो ।

 
 
  
 

You may also like