कोरोना संक्रमित युवा मस्त रुपमा अस्पतालभित्रै नाचगान ( भिडियो )

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका कोटहीमाई गाउँपालिकाका कोरोना संक्रमित अस्पतालमा नाचेर दिन कटाउँछन्। गत बिहीबार आइसोलेसनमा भर्ना गरिएका २५ वर्षीय ती युवामा शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। ती युवा अस्पतालमै नाचेको भिडियो नै सार्वजनिक भएको हो। अस्पताल प्रशासनले आइसोलेसन वार्डमा लगाएको सिसिटिभीमा कैद भएको उक्त भिडियोमा संक्रमित युवा जोसिलो पाराले नाचिरहेका देखिन्छन्।

उनी ‘टिकटकमा देखेको’ बोलको गीतमा नाचिरहेको थिए। मास्क र हातमा पञ्जा लगाएका युवा ५० जना अट्ने आइसोलेसन वार्डमा एक्लै छन्। यही एक्लोपनलाई हटाउन उनले बेलाबेला नाचेरै दिन बिताउने गरेका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन्। ती युवामा देखिएको कोरोना संक्रमण छिट्टै नै नेगेटिभ देखिनेमा स्वास्थ्यकर्मीहरू पनि विश्वस्त देखिन्छन्।अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले अस्पतालमा बस्नेहरुलाई दिक्क नलागोस् भनेर समयसमयमा गीत बजाइने जानकारी दिए। एक्लै अस्पतालमा बस्दा बस्दै दिन कटाउन गाह्रो हुने भएकाले नाचेरै समय कटाउन सजिलो हुने ती युवा पनि बताउँछन्।

‘नाच्नु त झनै स्वास्थ्यका लागि फाइदाजनक पनि छ। संक्रमितको मानसिक अवस्थालाई पनि राम्रो बनाउँछ,’ उनले भने। २५ वर्षीय यी युवा लकडाउनको समयमा वैशाख ५ गते भारतबाट लुकीछिपी रुपन्देही प्रवेश गरेका थिए। चिकित्सकका अनुसार संक्रमितमा कोरोनाको कुनै लक्षण देखा परेको छैन। संक्रमितको परिवारको कोरोना परीक्षण भइसकेको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको थियो।

भिडियो:

 
 
  
 

You may also like