रुरुक्षेत्र गाउपालिकाद्वारा राहत वितरण

  • माधब ज्ञवाली

गुल्मी ।गुल्मीको रुरुक्षेत्र गाउपालिकाले लकडाउन प्रभावितहरुलाई राहत वितरण गरेको छ । अति विपन्न परिवारको पहिचान गरी बिहीबारदेखि शुरु भएको राहत वितरण शुक्रबार पनि जारी रहेको हो ।गाउपालिकाले पालिकाभित्रका विभिन्न ६ वडाका लक्षित समूह पहिचान तथा राहत वितरण समिति मार्फत राहत वितरण कार्य थालेको हो ।
सबै वडाले आ–आफ्ना कार्यालयबाट राहत वितरण गर्न थालेका छन् । अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेका परिवारलाई दैनिक आवश्यक पर्ने उपभोग्य बस्तुहरु दाल, चामल, तेल, नुन, साबुन लगायत वितरण गरिएको गाउपालिकाले जनाएको छ ।

६ वटै वडाका वडा अध्यक्षहरुले दिएको जानकारी अनुसार पालिकाभित्र जम्माजम्मी ५ सय ६४ घरपरिवारले राहत पाउने भएका छन् । वडा न.३ मा बिहीबार राहत वितरण गरिएकोमा शुक्रबार वडा न. १, ४ र ५ मा वितरण गरिएको छ । वडा न. ६ का वडा अध्यक्ष गिरिप्रसाद सिङ्जालीका अनुसार त्यस वडामा शनिबार वितरण गरिने कार्यक्रम रहेको छ भने वडा न.२ मा आइतबार वितरण गरिने वडा अध्यक्ष घनश्याम अर्यालले जानकारी दिए ।
रुरुक्षेत्र गाउपालिकाको राहत कोषमा रुरुक्षेत्र निर्माण व्यवसायी संघ र प्रभु बैंक लि. शाखा कार्यालय रानीबास गुल्मीले सहयोग गरेका छन् ।

निर्माण ब्यबसायी संघले एक लाख रुपैयाँ सहयोग गरेको छ भने प्रभु बैंकले नगद पचास हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको हो । गाउपालिका अध्यक्ष निलकण्ठ गौतमले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे ।

 
 
  
 

You may also like